काठमाडौँ। सानिमा बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) पवन कुमार आचार्यले कार्यभार सम्हालेका छन्। आज अर्थात् माघ १२ गतेदेखि लागूहुनेगरी सिइओ पवन कुमार आचार्यले कार्यभार सम्हालेका हुन्।
उनी गत कात्तिक २४ गते बसेको बैंककाे सञ्चालक समितिको बैठकको निर्णयअनुसार सिइओमा नियुक्त भएका हुन्। बैंकका हालका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेको कार्यकाल माघ ११ गते समाप्त भएको छ। दुई दशक भन्दाबढी समयदेखि सानिमा बैंकमा आबद्ध आचार्यले विभिन्न पदमा रहेर काम गरिसकेका छन् ।
२१ वर्षदेखि सानिमा बैंकमा विशिष्ट योगदान पुर्याउँदै आएका आचार्य संयुक्त राज्य अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर र भारतको एमएनआइटि जयपुरमा इन्जिनियरिङमा स्नातक डिग्री हासिल गरेका छन् । साथै, शैक्षिक उपलब्धिहरुमध्ये एसएलसी परीक्षामा आदर्श विद्या मन्दिर हाई स्कुलबाट बोर्ड तेस्रो श्रेणी हासिल गरेका थिए ।
प्रमुख कार्यकारी अधिकृतको पदभार ग्रहण गर्नु अघि उनी बैंकको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए । सानिमा बैंकमा आफ्नो लामो सेवाकालका दौरान उनले दशभन्दा बढी विभाग तथा शाखाहरूको नेतृत्व गरिसकेका छन् ।
उनको प्रमुख कार्य क्षेत्रहरूमा कर्जा मूल्याङ्कन, डिजिटलाइजेसन तथा परियोजना वित्त रहेका छन् । उनी सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटलमा पनि अध्यक्षका रुपमा कार्यरत थिए । बैंकिङ क्षेत्रबाहेक उनीसँग इन्जिनियरका रूपमा चार वर्षभन्दा बढीको व्यावसायिक अनुभव रहेको छ । यसका साथै, उनले पाँच वर्षसम्म भिजिटिङ फ्याकल्टीको रूपमा पनि सेवा प्रदान गरेका थिए ।


