काठमाडौँ। ज्योति विकास बैंकले आफ्ना कर्मचारीहरूमाथि भएको गम्भीर आपराधिक घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै घोर भर्त्सना गरेको छ। रुपनी शाखाका ऋणी सप्तकोशी इन्टिग्रेटेड एग्रो फर्म प्रालिका सञ्चालकसँग कर्जाको किस्ता नियमित गर्ने विषयमा छलफल गर्न गएको क्रममा बैंकका दुई जना कर्मचारीमाथि नियोजित रूपमा दुर्व्यवहार तथा आक्रमण भएकोमा बैंकले गम्भीर ध्यानाकर्षण गराउँदै घोर भर्त्सना गरेको हो।

बैंकका क्षेत्रीय कार्यालय बर्दिबासबाट खटाइएका ती कर्मचारीहरू ऋणीसँग पूर्वसम्झौताअनुसार संवादका लागि फर्म रहेको स्थानमा पुग्दा फर्मका सञ्चालक, उनका परिवारका सदस्य तथा सहयोगीहरूले कर्मचारीहरूलाई नियन्त्रणमा लिई घण्टौँसम्म राखी ज्यान मार्ने उद्देश्यले आक्रमण गरिएको जस्तो गम्भीर आपराधिक गतिविधि भएको बैंकले जनाएको छ।




