काठमाडौँ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कर्जा असुली सम्बन्धी नयाँ सर्कुलर जारी गरेको छ। राष्ट्र बैंकले जारी गरेको कर्जा असुली सम्बन्धी नयाँ सर्कुलर अनुसार अब बैंकले कर्जा असुल गर्दा धितो लिलामी प्रक्रिया कम्तीमा तीन पटकसम्म पुरा गरिसकेपछि मात्र त्यस्तो धितो बिक्री नभएमा आफैंले बेच्न वा स्वीकार गर्न पाउने व्यवस्था गरेको छ।
इजाजतपत्रप्राप्त संस्थाले कुनै कर्जा असुली नभएमा सुरक्षणमा रहेको धितो बेचबिखन गरी बाँकी साँवा र ब्याज उठाउन सक्नेछ । कर्जा असुल गर्न कम्तीमा ३ पटकसम्म धितो लिलामी प्रक्रिया पुरा गर्दासमेत उक्त धितो बिक्री नभएको खण्डमा मात्र आफैँले सकार गर्नुपर्नेछ । सकार गर्दा धितोको प्रचलित बजार मूल्य वा धितो सकार गर्न अघिल्लो दिनसम्मको सम्पूर्ण लेना रकममध्ये जुन कम हुन्छ सोही मूल्यमा मूल्याङ्कन गर्नु पर्नेछ ।
यदि धितोको बजार मूल्य कर्जाको लेना रकम भन्दा कम भएमा कम भएजति रकम सोही आर्थिक वर्षमा नाफा-नोक्सान हिसावमा खर्च लेख्ने व्यहोरा लेखा नीतिमा उल्लेख गर्नु पर्नेछ ।
तर, यसरी मूल्याङ्कन गर्दा त्यस्तो गैर बैंकिङ्ग सम्पत्ति वापतको रकम सम्पूर्ण रुपमा हिसाब मिलान नभएसम्म लेना रकममध्येको ब्याज रकमलाई नाफा-नोक्सान हिसाबमा आम्दानी जनाउन पाइने छैन र त्यस्तो रकमलाई गैर बैंकिङ सम्पत्ति वापतको नोक्सानी व्यवस्थामा सार्नुपर्नेछ ।




