काठमाडौँ। नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशनमा संशाेधन गरेर विदेश भ्रमणसम्बन्धि व्यवस्थालाई थप व्यवस्थित बनाएको छ। राष्ट्र बैंकले विदेशी भ्रमणमा जाने बैंक तथा वित्तीय संस्थाका सञ्चालक र सिइओले अनिवार्य रुपमा सञ्चालक समितिबाट स्वीकृति लिनुपर्ने नीति लागू गरेको छ ।
जसमा सञ्चालक समितिका अध्यक्ष, सदस्य र प्रमुख कार्यकारी अधिकृतको विदेश भ्रमण सम्बन्धी व्यवस्थालाई थप व्यवस्थित बनाउन सम्बन्धित संस्थाले यस सम्बन्धी कार्यविधि बनाई लागू गर्नुपर्नेछ र त्यस्तो कार्यविधिमा अन्य आवश्यक विषयहरुका अतिरिक्त देहाय बमोजिमको व्यवस्था कायम गरेको हुनुपर्नेछ ।
साथै, सञ्चालक समितिका अध्यक्ष, सदस्य र प्रमुख कार्यकारी अधिकृत विदेश भ्रमण गर्दा प्रत्येक पटक संचालक समितिबाट निर्णय गर्नुपर्नेछ । भ्रमणको उद्देश्य, उपयोगिता लगायतका पक्षहरुमा सम्बन्धित संस्थाको संचालक समितिवाट निर्णय भएको हुनुपर्नेछ ।
संचालक समितिका अध्यक्ष, सदस्य र प्रमुख कार्यकारी अधिकृत संस्थाको कामसँग सम्बन्धित विषयमा विदेश भ्रमणमा जानु पर्दा भ्रमण गरिने मुलुक, भ्रमणमा जाने पदाधिकारीको नाम, भ्रमण अवधि, भ्रमणको विषय, भ्रमण गर्दा लाग्ने खर्च एवम्सम्बन्धित इजाजतपत्रप्राप्त संस्थालाई हुने लाभ समेतको विश्लेषण गर्नुपर्नेछ । साथै, विदेश भ्रमण कार्यक्रम मितव्ययी हुने गरी सम्पन्न गर्नुपर्नेछ ।




