काठमाडौँ । केही समय अघि मात्र एनआईसी एशिया बैंकको कर्पोरेट कम्युनिकेसन विभागमा सरोज भट्टराईको राज थियो । तर, चौतर्फी गुनासो आएपछि उनलाई हटाएर बैंकले कैलाश गौतमलाई सो विभागको प्रमुख बनायो । तर, कैलाशले पनि सोचेको अनुसार पर्फर्मेन्स देखाउन सकेनन् । त्यसपछि बैंकले भट्टराईलाई बैंकको सो विभागको जिम्मा दियो । तर यसपाली भट्टराईका बारेमा आउने गुनासो झन् बढ्यो ।
त्यसपछि बैंकले उनलाई फेरी सो विभागबाट हटायो । भट्टराईलाई हटाएर बैंकले योगेन्द्र न्यौपानेलाई सो विभागको प्रमुख बनायो । रोशन न्यौपानेका नजिकका मानिएका उनले न मिडिया बुझेका थिए, न कर्पोरेट कम्युनिकेसन नै । त्यसैले पनि होला, बैंकको मिडियासँग सम्बन्ध झन् बिग्रियो । दिनानुदिन योगेन्द्र न्यौपाने सम्बन्धि मौखिक उजुरी सीइओकहाँ पुग्न थाले । उनी लामो समय सो विभागमा टिक्न नसकेपछि अहिले धिरेन्द्र वाग्लेलाई सो विभागमा ल्याइएको छ। र वाग्लेको बसाई पनि सो विभागमा लामो छैन ।
यो त एउटा विभागको प्रमुख कुरा भयो, एनआईसी एशिया बैंकमा हरेकजसो विभागमा यस्तै समस्या छ । बैंकका एसीईओ भइसकेका कपिल ढकालले बैंक नै छोडे, राम्रो गरिरहेका भनिएका प्रकाश बरालले पनि बैंक छोडे । सीइओ रोशन न्यौपानेले नै बैंक छोडेपछि बैंक छोड्न तयार भएर बसेकाहरूको लिस्ट लामै छ । चाडबाडका बेला बैंक के छोडिहाल्नु भनेर मात्र उनीहरु बैंकमा जागिर खाइरहेका छन् । छट पछि बैंक छोड्नेहरुको लर्को माथिल्लो तहदेखि तल्लो तहसम्म देखिने संकेत छ ।
तल्लो तहका कर्मचारीको कुरै छोडौं, देश छोडेर विदेश जाने र एनआईसी छोडेर अरु बैंक जानेहरूको लर्को सङ्ख्यामा फरक भए पनि प्रवृत्तिमा उही छ । आखिर किन यस्तो भइरहेको छ त, आउनुहोस् बुँदागत रुपमा विश्लेषण गरौँ ।
१. पहिलो कुरा त एनआईसी एशियामा कामको टुङ्गो छैन । विहानै बोलाइन्छ, बेलुकीसम्म राखिन्छ । यो बैंकमा काम गरेपछि पर्सनल लाइफ सबै स्वाहा । यो कारणले पनि बैंकमा जागिर नै खानुपरे पनि एनआईसी एशिया बैंकरहरुको रोजाईमा छैन ।
२. दोश्रो भनेको बैंकमा काम गर्नेहरूका कुरा भन्दा चाकडी गर्नेका कुरा सुनिन्छ । प्रमोसनका बेला पनि काम गर्नेहरूको नाम भन्दा पहिला चाकडी गर्नेको नाम अगाडि आउँछ । आत्मै दुखाएर त के जागिर खानु भनेर बैंकको जागिर छोड्नेहरू ह्वात्तै बढेका छन् ।
३. बैंकमा सरुवामा यति सारो मनपरी छ कि, पूर्वको मान्छेलाई सुदूरपश्चिम पठाउने र सूदूरको मान्छेलाई पूर्व पठाउने चलन बढी छ । अलि चाकडी कम गर्नेलाई मधेश प्रदेश पठाउने, मधेशका साथीहरुलाई हिमालतिर पठाउने चलन बढी छ । एचआरको यो मनोमानीका कारण पनि एनआइसी एशिया बैंक छोड्नेहरू बढी छन् ।
४. एनआईसी एशिया महिलामैत्री छैन । दुईज्यू भएकी कर्मचारीलाई समेत अबेरसम्म काममा खटाइन्छ । तल्लो तहका कर्मचारी त झन् हाकिमकै दुर्व्यवहारको सिकार भएका उदाहरण पनि प्रशस्त छन् । यस्तो अवस्थामा बैंक छोड्नुको विकल्प छैन धेरैसँग ।
५. एनआईसी एशियामा अहिले धेरै फाइल बिग्रेका छन् । यसको कारण हो, मनपरी ढंगले ऋण प्रवाह हुनु । ऋण दिने बेलामा मनोमानी ढंगले हाकिमहरु दिए, अहिले उठाउने र गाली खाने बेलामा अरु कर्मचारीहरु मारमा परिरहेका छन् । त्यसैले पनि एनआईसी एशिया बैंकको जागिर छोड्नेहरुको लर्को छ ।
६. एनआईसी एशिया बैंकको भविष्य नै के हो भन्ने कुरा नै आफैंमा शंकास्पद विषय बनेको छ । बेलाबेलामा मर्जरको कुरा आउँछ, सीइओले नसकेर छोडीसके, हाम्रो के भविष्य होला र भन्नेहरु धेरै छन् । त्यसैले पनि बैंकबाट जागिर छोड्नेहरू बढेका छन् ।
७. बैंक काम दिने बेलामा पर्फर्मेन्सका कुरा गर्छ । तलव बढाउने बेलामा बैंकको स्थिति नै छैन भन्छ । अनि यसरी त करियर कसरी अगाडी बढाउनु ? यहि कारण पनि बैंक छोड्नेहरुको लर्को लागेको छ ।
एनआईसी एशिया बैंक छोड्नेहरुको संख्या बढ्नुको अन्य कारणहरु पनि छन् । तर समग्रमा भन्दा, बैंकमा काम गर्ने वातावरण नै छैन । न करियर सुनिस्चित छ, न कामको सम्मान छ । बजारमा न इमेज राम्रो छ बैंकको, न बैंकको भित्री स्थिति ठिक छ । यहि बेलामा एनआईसी छोडेर अन्त जागिर खानेको बरु प्रगति छ । अनि कर्मचारी किन बसुन् एनआईसी एशिया बैंकमा ?