prabhu

एनआइसी एशियामा लङ टर्म लगानी गरेका सेयर लगानीकर्ताको पैसा एक तिहाई स्वाहा, `गाई ब्याएन, थारो भो, मोटाएन´

काठमाडौँ । कुनै समय बजार बुल रनमा हुँदा एनआइसी एशिया बैंकको सेयर निकै चर्चामा थियो । २०२० को बुल मात्र होइन, त्यसपछिको साइडवेज बजार र बियर मार्केटमा समेत यस बैंकको सेयरले निकै ध्यान आकर्षित गरेको थियो । त्यतिबेला बैंकको सेयर मूल्य १,००० रुपैयाँभन्दा माथिसम्म पुगेको थियो भने बियरमा पनि ८०० रुपैयाँसम्म टिकेको थियो । तर अहिले भने सोही सेयर ३१४ रुपैयाँमा झरेको छ ।


त्यतिबेला ‘बैंक राम्रो गर्छ’ भन्ने विश्वासमा गरिएको लगानी अहिले एक तिहाईमा मात्र सीमित भएको छ । यसबीचमा बैंकले सेयरधनीलाई खासै केही दिन सकेको छैन ।

‘गाई ब्याएन, थारो भो, मोटाएन’
कुनै बेला एनआइसी एशिया बैंकलाई ‘लैनो गाई’सँग तुलना गरिन्थ्यो । बैंकले हरेक वर्ष राम्रो लाभांश दिने अपेक्षा गरिएको थियो । तर अवस्था यति बिग्रियो कि न बैंकले लाभांश दिन सक्यो, न त सेयर मूल्य नै बढ्न सक्यो ।


लामो समयका लागि ‘राम्रो कम्पनी’ भनेर लगानी गरेका सेयरधनी अहिले मूल्य हेरेर अचम्ममा परेका छन् । बिहीबारको कारोबार अनुसार, बैंकको सेयर मूल्य ३१४ रुपैयाँमा झरेको छ, जुन पछिल्ला तीन वर्षयताकै न्यून हो । कुनै बेला ७०० देखि ९०० रुपैयाँमा लगानी गर्नेहरु अहिले पूर्ण रूपमा घाटामा फसेका छन् । त्यसैले पनि कतिपय लगानीकर्ताले यस बैंकलाई अब ‘गाई ब्याएन, थारो भो, मोटाएन’ भनेर व्यंग्य गर्न थालेका छन् ।

जानकारहरुका अनुसार, बैंकले नजिकैको केही वर्षसम्म पनि लगानीकर्तालाई लाभांश दिन सक्ने अवस्था छैन । बैंकको नाफा न्यून छ भने वितरणयोग्य नाफा माइनसमा छ । लगानीकर्ताले ‘राइट सेयर’ आउने आशा त गरेका छन्, तर त्यो कहिले आउला वा नआउला भन्नेमा अन्योल छ ।
समग्रमा भन्दा, एनआइसी एशिया बैंकमा सेयरधनीहरु नमज्जासँग फसेका छन् । सहि नेतृत्वको कमी र मनपरी लगानीले बैंकलाई थिलोथिलो बनाइदिएको छ । अहिले बैंक एउटा नमिठो दुष्चक्रमा परेको छ, जसबाट कहिले बाहिर निस्केला भन्ने स्पष्ट छैन ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै