काठमाडौं। जुम्लाको चन्दननाथ नगरपालिका-९ स्थित मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय तातोपानीका प्रमुख मनप्रसाद जैशीमाथि सेवाग्राही महिलाहरूको बचत रकम अपचलन गरेको गम्भीर आरोप लागेको छ।
तीन वर्षअघि समूहबाट बाहिरिएकी उमगाडकी जोती गिरीले आफैं नगइकन पनि आफ्नो नाममा जम्मा भएको बचत र ब्याज रकम एकमुष्ट फिर्ता गरिएको थाहा पाएपछि ठगी भएको उजुरी दिएकी छन्।
‘म कहाँ गएँ र कहिले फारम भरेँ ?’ भन्दै आक्रोशित गिरीले भनिन्, ‘संस्थासँगको सम्पर्क विच्छेद भएको तीन वर्ष भयो। तर मेरो खाताबाट निकासी भएको छ, त्यो पनि म आफैंलाई थाहा नदिई।’
२०७८ सालदेखि कार्यालय नगएकी गिरीको खाताबाट ०८१ साल फागुन २५ गते एकमुष्ट निकासी गरिएको देखिएको छ। रकम कहाँ र कसलाई दिइयो भन्ने कुनै आधिकारिक विवरण नखुलेको र शाखा प्रमुखले समेत जवाफ दिन नसकेको स्थानीयहरू बताउँछन्।
थप महिलाको पनि रकम अपचलन
त्यसैगरी तातोपानी–४ की दुर्गा कुमारी शाही पाण्डेको नाममा रहेको बचतबाट समेत २,१७७ रुपैयाँ शाखा प्रमुखले आफैं निकालेको खुलेको छ। दुर्गाले भनिन्, ‘हाकिमले मलाई खातामा केही बाँकी छैन भनेर निष्कासन गरिएको जानकारी दिएका थिए। तर, अहिले थाहा भयो, रकम बाँकी नै रहेछ र मलाई थाहा नदिई फिर्ता भइसकेछ।’
बचत विवरण नदिने, अपारदर्शी कारोबार
पीडित महिलाहरूका अनुसार, लघुवित्त कार्यालयले पैसा फिर्ता गर्दा सदस्यलाई कुनै लेखाजोखा वा विवरण दिने चलन नै नभएको बताएका छन् । अधिकांश महिला सदस्य लेखपढ गर्न नजानेका र आर्थिक विवरण बुझ्न नसक्ने भएकाले उनीहरूको नाममा अनियमितता भएको देखिन्छ।
‘१५ वर्षे पेन्सन बचत योजना भन्दै रकम संकलन गरिएको थियो। तर, १५ वर्ष पूरा नहुँदै रकम फिर्ता गर्दा साँवा मात्र दिइएको, ब्याज अपचलन गरिएको थाहा भएको छ,’ एक सदस्यले भनिन्।
विश्वासको संकट, नियामक निकाय मौन
यस्ता घटनाबाट लघुवित्त संस्थाप्रति समुदायको विश्वास घट्दै गएको छ। विशेष गरी ग्रामीण महिलाहरूलाई आर्थिक सशक्तिकरण गर्ने उद्देश्यले स्थापित लघुवित्तहरू नै अहिले अपारदर्शिता, दुरुपयोग र अनियमितताका गढ बन्न थालेका छन्।
राष्ट्र बैंक, कर्जा सूचना केन्द्र र लघुवित्त संघले यथाशीघ्र अनुशासनात्मक छानबिन नगरे लघुवित्त प्रणालीमै गम्भीर संकट उत्पन्न हुने स्थानीयको चेतावनी छ।
स्थानीय आवाज चर्किँदै
यो घटनापछि गाउँमा लघुवित्तविरुद्धको असन्तोष चुलिँदै गएको छ। अन्य सदस्यहरूका खाताबाट पनि शाखा प्रमुखले मनपरी निकासी गरेको आशंका बलियो बनेको छ।
अब सम्बन्धित निकायले तत्काल छानबिन गरेर दोषीलाई कारबाही नगरे लघुवित्तमा मौलाउँदै गएको अपचलन र भ्रष्टाचार झनै भयावह बन्ने देखिन्छ।