काठमाडौँ। हिमालयन बैंक, एनआईसी एशिया बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लगायतले कति बोनस कुन बेला दिने भन्ने विषय साउन १५ पछि निर्क्योल गर्ने भएका छन् । यी बैंकहरुले नाफाको हिसाब गरेर कहिले बोनस खुवाउने भन्ने विषयमा निर्क्योल गर्ने भएका हुन् ।
बोनस ऐन २०३० कोको दफा ५ को उपदफा १ मा भएको व्यवस्था अनुसार बैंकहरुले आर्थिक वर्षमा आर्जन गरेको मुनाफाको १० प्रतिशत कर्मचारी बोनसको लागि छुट्याउनुपर्ने हुन्छ । सोहि नियमअनुसार बैंकले आफ्ना कर्मचारीहरुलाई बोनस दिने गरेका छन् ।
यसरी वितरण गरिने बोनस क्लोजिङ बोनसका नाममा आर्थिक बर्ष सकिएपछि र बाँकी लेखापरीक्षण सकिएपछि वा लेखापरीक्षण सकिएर साधारणसभाको मिति वरपर बैंकहरुले आफ्ना कर्मचारीहरुलाई वितरण गर्ने गरेका छन् । केहि बैंकले भने एकैपटक साधारणसभा हुने समयमा एकमुष्ट सो बोनस दिने गरेका छन् ।
बैंकको नाफा र बैंकमा रहेका कर्मचारीको संख्या हिसाब गरेर विभिन्न बैंकहरुले ७ महिनासम्मको बेसिक तलव बराबरको बोनस दिने गरेका छन् । बैंकले क्लोजिङ बोनसका नाममा रकम खातामा पठाएपछि कर्मचारी भने हौसिएका छन् ।
कतिपय कर्मचारीहरुले त बैंकले खातामा पठाएको बोनसले क्लिजिङको तनाव भुलेको भन्दै सामाजिक संजालमा खुसीसमेत पोखेका छन् ।बोनस आएको खुसी धेरै कर्मचारीहरुले टिकटक लगायतका सामाजिक संजालमार्फत बाँडेकासमेत छन् ।