यता बैंकले दिने ऋणमा इन्टरनल अडिटले देखाएको कैफियतलाई पनि बेवास्ता गरेको, राष्ट्र बैंकले सो विषयमा विस्तृत अध्ययन गर्न भनेकोमा नगरेको पाइएपछि सिटिजन्स कारवाहीमा परेको हो ।राष्ट्र बैंकले सिटिजन्स बैंकको मनपरी यति मात्र देखेको छैन । सिटिजन्स बैंकले बैंकको ब्याजदर नै गलत रुपमा गणना गरेको, हदैसम्म एभरग्रिनिङ गरेकोसमेत फेला परेको छ । बिग्रिएको ऋणको किस्ता र ब्याज उठाउन थप ऋण दिएर बैंकले गैरकानुनी काम गरेको राष्ट्र बैंकको ठहर छ । यतिमात्र होइन, ऋणको हकमा बैंक सार्है गैरजिम्मेवार बनेको तथ्यसमेत समेटेर राष्ट्र बैंकले सिटिजन्स बैंकलाई कारवाही गरेको छ ।

काठमाडौँ। राष्ट्र बैंकको नियमनमा रहेको एउटा बाणिज्य बैंकले कुन हदसम्मको बदमासी गर्न सक्ला ? आज हामी त्यस्तै तथ्यको उजागर गर्दैछौं । जहाँ जनताको पैसा हुन्छ, नियामकको नियमन हुन्छ, कानुनी म्यान्डेट हुन्छ । तर हाम्रो बैंकको सीइओलाई कसले छुने ? राष्ट्र बैंक हाम्रै गोजीमा छ भन्ने शैलीमा काम गर्दा यतिबेला सिटिजन्स बैंकका सीइओमाथि कारवाहीको डण्डा चलेको छ ।
हो, बैंकका सीइओ गणेशराज पोखरेलले आफ्नो जागिरको करार सम्झौता गैरकानुनी रुपमा संसोधन गरी आफ्नो सेवा सुविधा बढाएको पाइएपछि राष्ट्र बैंकले पोखरेललाई कारवाहीको रुपमा सचेत गराएको हो । बैंकका सीइओले गरेको मनपरीबारे बैंककै एक संचालकले राष्ट्र बैंकमा मौखिक उजुरी गरेका थिए । सो सूचना पाएपछि राष्ट्र बैंकले आवश्यक कागजात हेर्दा सीइओको सेवा सुविधाका नाममा हदैसम्मको बदमासी गरेको पाइएपछि पोखरेल कारवाहीमा परेका हुन् ।
यति मात्र पनि होइन, सिटिजन्स बैंकले चालुपूँजी सम्बन्धी मार्गदर्शन पूर्णरूपमा पालना नगरेको पाइएको भनेको छ । यता, राष्ट्र बैंकमा रिपोर्टिङ्ग गर्दा पनि गलत तथ्यांक प्रस्तुत गरेर मनपरी गरेको राष्ट्र बैंकको ठहर छ ।
नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर आएपछि सिटिजन्स बैंकलाई राष्ट्र बैंकले समेत कारवाही गर्ने आँट गरेको देखिएको छ । यसअघि सिटिजन्सले जे गरे पनि राष्ट्र बैंकले कारवाही गर्दैन भन्ने चर्चा बैंकिङ क्षेत्रमा थियो । तर अन्तत: सो हल्ला गलत सावित भएको छ ।
अनि यति धेरै बदमासी गर्ने बैंकलाई राष्ट्र बैंकले कारवाही गर्दा पनि किन यस विषयमा मिडियामा आउनुपर्ने जति खबर आएन होला ? यसको पछाडीको कारण छ बैंकले पोजेटिभ न्युज लेख्न समाचार गनेर मिडियालाई दिने गरेको पैसा । न कतै विज्ञापन प्रकाशन, न प्रशारण । सीइओको गुणगान गर्न लगायो, अनि पैसा तिर्यो । यो आरोप होइन, तथ्य हो । यस विषयको थप खुलासा आगामी अंकमा ।