काठमाडौं । चीनसँग सटेका सीमावर्ती क्षेत्रहरूमा ठूलो मात्रामा नेपाली मुद्रा थुप्रिन थालेको पाइएको छ। चिनियाँ दूतावासले नेपाली रुपैयाँ चीनमा अड्किन थालेको भन्दै सटही प्रक्रिया सहज बनाउन नेपाल राष्ट्र बैंकसँग औपचारिक अनुरोध गरेको छ।
सामान्यतया नेपालबाहिर नेपाली मुद्रा प्रयोग मान्य हुँदैन। तर भारत र चीनसँगका सीमा नाका आसपासको व्यापार, पर्यटन र स्थानीय किनमेलका क्रममा राष्ट्र बैंकले तोकेको सीमा भन्दा धेरै रकम ओसारपसार हुने गरेको छ। यही कारण, अहिले चीनतर्फ करोडौं रुपैयाँ बराबरको नेपाली मुद्रा विनिमय नभई थुप्रिएको अवस्था देखिएको हो।
किन थुप्रिँदै छ नेपाली पैसा ?
चीनतर्फका सीमावर्ती बजारमा नेपाली पर्यटक तथा ग्राहकबाट व्यापारीहरूले सिधै नेपाली रुपैयाँ लिँदै आएका छन्। तर उक्त रकम स्थानीय बैंकमा सटही गर्न नपाउने व्यवस्था हुँदा मुद्रा विनिमय नभई संचित हुँदै गएको हो। यद्यपि हाल कति परिमाणमा नेपाली रुपैयाँ अड्किएको छ भन्ने यकिन तथ्यांक भने सार्वजनिक भएको छैन।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती रमण नेपालका अनुसार चिनियाँ दूतावासले यसबारे सहजीकरणको आग्रह गरेको छ। राष्ट्र बैंकले चिनियाँ केन्द्रीय बैंकमार्फत आवश्यक पत्राचार गर्नुपर्ने जानकारी दिएको छ।
हाल नेपालको कानुन अनुसार एक व्यक्तिले विदेश जाँदा अधिकतम ५ हजार रुपैयाँ मात्र लैजान पाउने व्यवस्था छ। तर, खुला सीमाका कारण विशेष गरी सीमावर्ती क्षेत्रमा यस्तो नियमको प्रभावकारी कार्यान्वयन चुनौतीपूर्ण बनेको छ।