काठमाडौं । बैंकिङ कसुरसम्बन्धी उजुरीका आधारमा जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद सुमन शर्मा रायमाझीविरुद्ध पर्सा जिल्ला अदालतले जेठ १६ गते पक्राउ पुर्जी जारी गरेको छ। बर्दिया जिल्लाको गुलेरिया नगरपालिका-५ की रायमाझी हालसम्म फरार रहेको प्रहरी अभिलेखमा उल्लेख छ।
पर्सा जिल्लाकी आशा कुमारी चौहानले सांसद रायमाझीविरुद्ध जिल्ला प्रहरी कार्यालय, पर्सामा बैंकिङ कसुरसम्बन्धी उजुरी दर्ता गराएकी थिइन्। चौहानकै उजुरीका आधारमा अदालतले रायमाझीविरुद्ध पक्राउ आदेश दिएको हो। यसपछि जिल्ला प्रहरी कार्यालय पर्साले असार ३ गते बर्दिया प्रहरीलाई पत्राचार गर्दै रायमाझीलाई पक्राउ गरी बुझाउन निर्देशन दिएको छ।
चौहानको जाहेरी अनुसार, रायमाझीले ५ लाख ५० हजार रुपैयाँ सापटी लिएकी थिइन्। सो रकम फिर्ता गर्ने शर्तमा उनले २०८१ भदौ ७ गते दुई लाख ७५ हजार रुपैयाँको चेक दिएकी थिइन्। तर, चेक साट्न जाँदा खातामा रकम नहुँदा चेक बाउन्स भएको उल्लेख जाहेरीमा छ।
रायमाझी जनमत पार्टीबाट समानुपातिक सांसद बनेकी हुन्। यसअघि उनी जसपा नेपालबाट प्रदेशसभा प्रवेश गरेकी थिइन्। एमालेका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा उनले भौतिक पूर्वाधार विकास राज्य मन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् भने पछि माओवादी केन्द्रका मुख्यमन्त्री कुलप्रसाद केसी नेतृत्वको मन्त्रिपरिषद्मा कृषि मन्त्री समेत बनेकी थिइन्।
पक्राउ पुर्जी जारी भइसकेको अवस्थामा पनि रायमाझी हालसम्म सम्पर्कविहीन छन्। अब उनलाई पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाउने तयारीमा पर्सा प्रहरीले बर्दिया प्रहरीसँग समन्वय गरिरहेको छ।