नेपाल बैंकर्स संघद्वारा भन्सार क्लियरेन्स तथा एचएस कोड सम्बन्धी तालिम सम्पन्न

काठमाडौँ। नेपाल बैंकर्स संघ (एनबीए) ले एक दिने तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। एनबीएले ‘नेपालमा भन्सार क्लियरेन्स तथा एचएस कोड अभ्यास सम्बन्धी ज्ञान अभिवृद्धि’ विषयक एक दिने तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको हो ।

उक्त तालिममा संघका सदस्य बैंकहरूमा कार्यरत व्यापार वित्त (ट्रेड फाइनान्स) क्षेत्रमा संलग्न कर्मचारीहरूको सहभागिता थियो।

तालिमको उद्देश्य नेपालमा लागू भन्सार क्लियरेन्स प्रक्रिया, हार्मोनाइज्ड सिस्टम (एचएस) कोड वर्गीकरण तथा मूल्य प्रमाणीकरण (प्राइस भेरिफिकेसन) सम्बन्धी व्यावहारिक ज्ञान अभिवृद्धि गर्नु थियो। यी विषयहरू अन्तर्राष्ट्रिय व्यापारलाई सहज बनाउन, नियामकीय अनुपालन सुनिश्चित गर्न तथा सञ्चालनसम्बन्धी जोखिम न्यूनीकरण गर्न महत्वपूर्ण मानिन्छन्।

तालिमका प्रमुख प्रशिक्षक भन्सार विभागका निर्देशक ज्ञानेन्द्रराज ढकाल थिए । उनले भन्सार प्रशासन, व्यापारसम्बन्धी प्रक्रिया तथा व्यवहारिक पक्षबारे आफ्नो अनुभव र विशेषज्ञता सहभागीहरूसँग साझा गरे। निर्देशक ढकालले व्यापार वित्तसम्बन्धी कारोबार सहजीकरण गर्दा बैंकहरूले नियामकीय व्यवस्था पालना, व्यापारसम्बन्धी कागजातको उचित परीक्षण (ड्यु डिलिजेन्स), एचएस कोडको सही वर्गीकरण, भन्सार मूल्याङ्कन तथा मूल्य प्रमाणीकरण प्रक्रियामा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका छन् ।

नेपाल बैंकर्स संघले यस्ता क्षमता अभिवृद्धिमूलक तालिमले बैंकिङ क्षेत्रका जनशक्तिको व्यावसायिक दक्षता बढाउनुका साथै सुरक्षित, पारदर्शी र प्रभावकारी व्यापार वित्त प्रणाली प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्