काठमाडौँ। तीजको दिन पनि बैंकमा काम गर्न बोलाएपछि महिला कर्मचारीले गुनासो गरेका छन्। नेपाली महिलाहरूको पर्व तीजको दिनसमेत बैंकमा काम गर्न बोलाइएको भन्दै महिला कर्मचारीहरूले गुनासो गरेका छन्।
वर्षभरि कार्यालयको जिम्मेवारी सम्हाल्दै आएका महिला कर्मचारीले तीजजस्तो विशेष दिनमा समेत बिदा नपाउँदा परिवार र आफन्तसँग पर्व मनाउने अवसरबाट वञ्चित हुनुपरेको गुनासो गरेका हुन्।
तीज नेपाली समाजमा महिलाका लागि विशेष महत्व बोकेको पर्व हो। विवाह भएका तथा अविवाहित महिलाहरूले आफ्ना परिवार, आफन्त र साथीभाइसँग भेटघाट गर्ने, पूजा,आराधना गर्ने, दर खाने तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुने परम्परा रहँदै आएको छ।
पछिल्लो समय तीजको स्वरूप परिवर्तन भए पनि महिला कर्मचारीका लागि यो दिन पारिवारिक तथा सामाजिक रूपमा महत्वपूर्ण अवसरका रूपमा रहँदै आएको छ।
तर, बैंकिङ क्षेत्रमा कार्यरत कतिपय महिला कर्मचारीका लागि यस वर्षको तीज भने कार्यालयको काममै बित्ने अवस्था बनेको गुनासो आएको छ। बैंक व्यवस्थापनले तीजको दिनसमेत कार्यालयमा उपस्थित भएर काम गर्न निर्देशन दिएपछि कर्मचारीहरू असन्तुष्ट बनेका हुन्।
महिला कर्मचारीहरूका अनुसार बैंकमा सेवा निरन्तर सञ्चालन गर्नुपर्ने अवस्था भए पनि पर्वको दिन सबै कर्मचारीलाई अनिवार्य रूपमा कार्यालयमा बोलाउनु उचित नभएको बताएका छन्। एक बैंककी कर्मचारीले आफ्नो नाम नखुलाउने सर्तमा बैंकिङ संसारलाई यस्तो गुनासो पोखेकी हुन्।


