काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्समा बिमितले बीमावापत बचत गरेको रकमको चरम दुरुपयोग भएको पाइएको छ । कम्पनीका डेपुटी सीइओसमेत रहेका अमित कुमार कयालको पढाई र अन्य खर्चका नाममा कम्पनीको रकम चरम दुरुपयोग भएको पाइएको हो । यस विषयमा नियामक नेपाल बीमा प्राधिकरणमा उजुरी परेको थियो । उजुरी उपर अनुसन्धान गर्दा कयालका नाममा गरिएको खर्च गैरकानुनी भएको भेटिएपछि प्राधिकरणले नेपाल लाइफलाई कारवाहीसमेत गरेको खुलासा भएको छ ।
महिनाकै लाखौँ कमाउने कयाललाई कार्यविधि नै नबनाई एमबिए पढ्न गैरकानुनी बाटोबाट चन्दा !
कम्पनीका डेपुटी सीइओ कयालले कम्पनीबाट कार्यविधि नै नबनाई ५ रुपैयाँ चन्दा लिएर एमबिए पढेको समेत खुलासा भएको छ । अर्थात्, महिनाकै लाखौँ कमाउने कयाललाई कम्पनीले एमबिए पढ्नका लागि भनेर ५ लाख रुपियाँ चन्दा दिएको पाइएको छ । कयालसँग एमबिए पढ्न पैसाको अभाव भएको भन्दै संचालक समितिले उनलाई पढाई खर्च स्वरुप ५ लाख रुपैयाँ दिने निर्णय गरेको हो । तर, न उनी पढ्न पैसा नभएका व्यक्ति हुन्, न उनलाई पढाई खर्च दिने कार्यविधि नै बनेको थियो । तर आफ्नै हात जगन्नाथ भन्ने शैलीमा कयाललाई ५ लाख रुपैयाँ पढ्नका लागि भन्दै निकासा गरिएको थियो । पछि यस विषयमा चर्को विवाद भएपछि कम्पनीलेकर्मचारीलाई पढ्न खर्च दिन कार्यविधि बनाएको छ । तर कयाललाई दिएको रकम गैरकानुनी भएको प्रष्ट हुँदा पनि न सो रकम फिर्ता भएको छ, न कम्पनीलाई कारवाही भएको छ ।
योग्यतामा प्रश्न उठेपछि ५ लाख रुपैयाँ खर्च गरिदिएर एमबिएको पढाई, प्राधिकरणले अवैध ठहर गरिदियो नियुक्ति !
कयालले भारतबाट सिए पढेका हुन् । उनी नेपाल आएर नेपाल लाइफमा जागिर खाँदा पनि उनको योग्यता पुगेको थिएन । सिए एकेडेमिक क्वालिफिकेसन नभएकाले उनको नियुक्ति प्रचलित कानुनविपरित थियो । त्यसपछि उनलाई कम्पनीले गैरकानुनी रुपमा ५ लाख रुपैयाँ दिएर लर्ड बुद्ध एजुकेसन फाउन्डेसनमा एमबिएमा भर्ना गराईदिएको थियो ।

भर्ना गरे पनि नियामक प्राधिकरणले उनको नियुक्ति अवैध रहेको ठहर गरेको थियो । बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ बमोजिमको अनुभव नपुगेको भन्दै आर्थिक जरिवानासमेत भए पनि कम्पनीले कयाललाई कारवाही गरेन । बरु उल्टै संचालक समितिका सदस्यको जोडबलमा उनलाई डेपुटी सीइओमा बढुवा गरियो । सुरुवाती नियुक्ति नै गैरकानुनी भएको स्थितिमा उनको सो बढुवा पनि गैरकानुनी नै ठहर हुने प्रष्ट स्थिति हुँदा पनि पछि उनलाई कारवाही भने भएन ।
‘प्राधिकरणका हाकिमका मान्छेलाई जागिर दिएपछि मिल्यो सेटिङ्ग !’
यसो त बीमा र्पाधिकरणले नेपाल लाइफमा कयाललाई डेपुटी सीइओ नियुक्त गरेको विषय पनि गैरकानुनी भन्दै कारवाहीको तयारी गरेको थियो । तर नेपाल लाइफमा नियामक नेपाल बीमा प्राधिकरणका हाकिमले भनेको मान्छेलाई कयालले जागिर मिलाईदिएपछि सबै कुराको ‘सेटिङ्ग’ मिलेको स्वयम् प्राधिकरणकै कर्मचारीहरुको छ। त्यसपछि सो उजुरी नै तामेलीमा राखेर नेपाल बीमा प्राधिकरणले यो विषयमा मौनता देखाएको छ । बीमा प्राधिकरणले एक तहको नियुक्तिमा प्रश्न उठाउँदै कारवाही नै गरिसकेपछि सोहि पदबाट थप माथि पदमा बढुवा गर्दा सो पद कसरी कानुनी भयो भन्ने प्रश्न बीमा प्राधिकरण भित्रै पनि उठेको थियो । तर तत्कालीन सरकारमा रहेका केहि नेताको फोन र प्राधिकरणका हाकिमका आफन्तलाई जागिर दिएपछि अन्तत: सबै कुराको सेटिङ्ग मिलेको थियो ।
बोल्दैनन् कयाल, सूचना अधिकारीको फोन नै अफ !
यस विषयमा धारणा माग्न हामीले अमित कुमार कयाललाई पटक पटकसम्पर्कको प्रयास गरेका थियौँ । तर उनीसँग सम्पर्क नभएपछि हामीले कम्पनीका सूचना अधिकारी विनोद कुमार भुजेललाई सम्पर्क गरेका थियौँ । तर उनले हाम्रो फोन नै उठाएनन् । बीमा प्राधिकरणले भने गैरकानुनी काम गरेको पाइएपछि नेपाल लाइफलाई कारवाही भएको पुष्टी गरेको छ ।


