काठमाडौँ। एभरेष्ट बैंकका कर्मचारीले आफ्नै परिवारका सदस्यलाई गैरकानुनी रुपमा ऋण दिने गरेको खुलासा भएको छ । बैंकिङ कसुर तथा सजाय ऐन आकर्षित हुने यस्तो गैरकानुनी काम गरे पनि ती व्यक्ति सिइओ निकट भएकै कारण कारवाही भने नभएको पाइएको हो ।
यति मात्र होइन बैंकले मधेश प्रदेशका पूर्वप्रमुख पुष्पराज उप्रेतीमाथि कारवाही गरेर नक्सालशाखाको शाखा प्रबन्धकका रुपमा खटाएको पाइएको छ । उनी मधेश प्रदेश प्रमुख हुँदा बैंकका कर्मचारीले ऋणीसँग घुस लिएको विषय प्रमाणित भएपछि बैंक व्यवस्थापनले उनलाई प्रदेश प्रमुखको जिम्मेवारीबाट हटाएर सामान्य शाखाको शाखा प्रबन्धकमा सीमित गरेको हो।
प्रदेशस्तरको नेतृत्व सम्हालिरहेका उप्रेतीलाई जिम्मेवारीबाट हटाएर शाखा प्रबन्धक बनाइएको विषय बैंक व्यवस्थापनले समेत पुष्टि गरेको छ।
यद्यपि, यस विषयमा उप्रेतीको प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन्। पछिल्लो समय एभरेष्ट बैंकसँग जोडिएर ऋणीसँग घुस असुली तथा ग्राहकको रकम हिनामिनासम्बन्धी विभिन्न विवाद सार्वजनिक हुँदै आएका छन्। बैंकभित्रको सुशासन र कर्मचारीको आचरणमाथि समेत प्रश्न उठिरहेका बेला प्रदेशका पूर्वप्रमुखमाथि भएको कारवाहीले बैंकको आन्तरिक व्यवस्थापनबारे थप प्रश्न खडा गरेको छ।




