काठमाडौँ। बैंकहरुको मुद्दति निक्षेपमा बीमा कम्पनीहरुको लगानी बढेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो त्रैमाससम्मको तथ्यांक अनुसार एक वर्षको अवधिमा बैंकहरुको मुद्दति निक्षेपमा बीमा कम्पनीहरुको लगानी २.१ प्रतिशतले बढेको हो।
बैंकहरुको मुद्दति निक्षेपमा बीमा कम्पनीहरुले ६ खर्ब ७९ अर्ब ५३ करोड ९ लाख रुपैयाँ लगानी गरेका छन्।
हाल १४ वटा जीवन बीमा, १४ वटा निर्जीवन बीमा, ४ वटा लघु निर्जीवन बीमा, ३ वटा लघु जीवन बीमा र २ वटा पुनर्बीमा कम्पनी रहेका छन्। मुद्दति निक्षेपका रुपमा वाणिज्य बैंक र पूर्वाधार बैंकमा गरी कुल लगानीयोग्य रकमको ३० प्रतिशत, विकास बैंकमा १० प्रतिशत र फाइनान्स कम्पनीमा ५ प्रतिशत लगानी गर्न पाउने प्रावधान रहेको छ।
त्यस्तै, असोजसम्म कर्मचारी सञ्चय कोषले बैंकहरुको मुद्दति निक्षेपमा १ खर्ब ८१ अर्ब ३९ करोड २१ लाख रुपैयाँ लगानी गरेका छन् भने बैंकहरुमा सर्वसाधारणको ५६ खर्ब २४ अर्ब ५० करोड ७८ लाख रुपैयाँ निक्षेप रहेको छ।



