काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड (CZBIL) ले बेलायतको प्रतिष्ठित वित्तीय प्रकाशन ‘द बैंकर (The Banker)’ ले प्रदान गर्ने ‘बैंक अफ द इयर २०२४ (Bank of the Year 2024 – Nepal)’ अवार्ड प्राप्त गरेको छ। बैंकले आफ्नो इतिहासमै पहिलो पटक यो प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मान जित्न सफल भएको हो।
बेलायतको फाइनान्सियल टाइम्स (Financial Times) समूहअन्तर्गत प्रकाशित ‘द बैंकर’ले प्रदान गर्ने उक्त अवार्ड बैंकको उत्कृष्ट वित्तीय प्रदर्शन, नवप्रवर्तन तथा गुणस्तरीय सेवा प्रवाहको मूल्याङ्कनका आधारमा प्रदान गरिन्छ। नेपाली समयअनुसार बिहीबार मध्यराति लन्डनमा आयोजित विशेष समारोहमा बैंकका अध्यक्ष प्रबलजंग पाण्डे र प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेल ले उक्त अवार्ड ग्रहण गरेका थिए।
सिटिजन्स बैंकले पछिल्ला वर्षहरूमा आधा दर्जनभन्दा बढी वित्तीय संस्थालाई गाभ्दै आफ्नो सेवा र व्यवसाय विस्तार गरेको छ। बैंकले लघु, साना तथा कर्पोरेट व्यवसायलाई वित्तीय पहुँच उपलब्ध गराउनुका साथै नवीकरणीय ऊर्जा र ठूला पूर्वाधार आयोजनामा उल्लेखनीय लगानी गर्दै आएको छ।
अवार्ड ग्रहणपछि अध्यक्ष प्रबलजंग पाण्डे ले यो सम्मानले बैंकको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन प्रेरणा मिल्ने र नेपालको बैंकिङ क्षेत्रको विकासमा थप योगदान पुग्ने विश्वास व्यक्त गरे। उनले यो उपलब्धि केवल सिटिजन्स बैंकको मात्र नभई समग्र नेपाली बैंकिङ प्रणालीकै अन्तर्राष्ट्रिय सफलता भएको बताए।
त्यसैगरी, सीईओ गणेशराज पोखरेल ले बैंकले ग्राहककेन्द्रित सेवा, वित्तीय नवप्रवर्तन र सुशासनलाई प्राथमिकतामा राख्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालको बैंकिङ क्षेत्रको पहिचान स्थापित गर्न सफल भएको बताए।
‘बैंक अफ द इयर’ अवार्ड विगत २५ वर्षभन्दा बढी समयदेखि विश्वका १५० भन्दा बढी देशका उत्कृष्ट वाणिज्य बैंकलाई प्रदान हुँदै आएको छ। सिटिजन्स बैंकले प्राप्त गरेको यो सम्मानले नेपाली बैंकिङ उद्योगको विश्वसनीयता, प्रतिस्पर्धात्मक क्षमता तथा अन्तर्राष्ट्रिय छविलाई थप मजबुत बनाएको विश्वास गरिएको छ।


