काठमाडौँ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर खरिदमा कडाइ गरेको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका नाममा जारी एकीकृत निर्देशनमा संशोधन गर्दै नयाँ व्यवस्था ल्याएको हो।
बैंक तथा वित्तीय संस्थाको एकपटक वा पटकपटक गरी चुक्तापुँजीको कुल ५ प्रतिशत वा कुल २५ लाख रुपैयाँभन्दा बढी कायम हुने गरी संस्थापक सेयर खरिद वा नामसारी गर्दा सोको वास्तविक धनी वा हिताधिकारी व्यक्तिको महत्वपूर्ण विवरणहरु लिनुपर्ने भएको छ।
सो विवरण बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकसमक्ष समेत पेस गर्नुपर्नेछ।
- सम्बन्धित व्यवसायसम्बन्धी प्रचलित कानुनबमोजिमको मापदण्ड पालना गरेको स्वघोषणा
- सम्बन्धित व्यक्तिको नाम, थर, ठेगाना, पारिवारिक विवरण, वास्तविक धनी तथा हिताधिकारीको विवरण
- नेपाल वा विदेशमा कुनै कसूरमा संलग्न भए वा नभएको स्वघोषणा। यदि संलग्न भएको भए सोको विस्तृत विवरण र वर्तमान अवस्था
- कुनै प्रकारको मुद्दा मामिला, अनुसन्धान, वैकल्पिक विवाद समाधानको प्रक्रिया वा न्यायिक वा प्रशासनिक कारबाहीको प्रक्रियामा रहे वा नरहेको स्वघोषणा। यदि भएको भए सोको विवरण
- अदालत वा अधिकारप्राप्त अधिकारीको फैसला वा आदेशबमोजिम तिर्नु, बुझाउनुपर्ने राजस्व, सरकारी बाँकी बक्यौता रहे वा नरहेको स्वघोषणा
- स्वदेश वा विदेशमा कर्जा सम्बन्धी कालोसूची वा त्यस्तै प्रकारको सूचीमा परे वा नपरेको स्वघोषणा
- स्वार्थको द्वन्द्व हुन सक्ने अवस्था विद्यमान रहे वा नरहेको विवरण
- नेपाली नागरिक भए निजको नेपाल बाहिर कुनै सम्पत्ति रहे वा नरहेको वा कुनै सम्पत्तिमा वास्तविक धनी वा हिताधिकारी भए वा नभएको स्वघोषणा
- विगतमा संलग्न भएको कार्य, संस्था, प्राप्त भएको जिम्मेवारी, पुरस्कार, सजायको अवस्था, कार्य सफलताको उदाहरणलगायतका विषय खुल्ने सम्बन्धित क्षेत्रको कार्य अनुभव सम्बन्धी विवरण
- वित्तीय आचरण (फाइनान्सियल साउन्डनेस) सम्बन्धी विवरण

