काठमाडौँ। बैंक तथा वित्तीय संस्थाहरूले कर्जा प्रवाहपछि आवश्यक अनुगमन र मूल्याङ्कन नगरेको पाइएको छ। हालैको निरीक्षणका क्रममा बैंकहरूले ऋणीहरूको वार्षिक मूल्याङ्कन नगर्ने, सम्बन्धित पक्षलाई दिएको कर्जाको पर्याप्त निगरानी नगर्ने तथा लिलामी प्रक्रियामा रहेका कर्जाहरूलाई उचित वर्गीकरण नगर्ने जस्ता कमजोरीहरू भेटिएको केन्द्रीय बैंकले जनाएको हो।
राष्ट्र बैंकका अनुसार कर्जा मूल्याङ्कन तथा वर्गीकरण प्रणालीमै कमजोरी देखिएको छ। जसले बैंकिङ क्षेत्रको जोखिम व्यवस्थापनमा प्रश्न उठाएको छ। नियामकले बैंकहरूलाई कर्जा लगानीपछि निरन्तर अनुगमन गर्नुपर्ने भए पनि धेरै संस्थाले उक्त व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन नगरेको पाइएको उल्लेख गरेको छ।
योसँगै कर्जा प्रवाह प्रक्रियामा पनि विभिन्न अनियमितता भेटिएको केन्द्रीय बैंकले जनाएको छ। ऋणीको योग्य कर्जा उपभोग सीमाभन्दा बढी कर्जा स्वीकृत गर्ने, नकारात्मक खुद मूर्त सम्पत्ति भएका संस्थालाई ऋण उपलब्ध गराउने तथा पर्याप्त धितोबिना कर्जा विस्तार गर्ने प्रवृत्ति देखिएको छ।
त्यस्तै, बैंकहरूले वित्तीय संस्थाहरूका ५ प्रतिशतभन्दा बढी स्वामित्व भएका शेयरलाई समेत मार्जिन कर्जाको धितोका रूपमा स्वीकार गरेको पाइएको छ, जुन जोखिम व्यवस्थापनका दृष्टिले संवेदनशील मानिन्छ।
केन्द्रीय बैंकले यस्ता कमजोरीहरूले बैंकिङ प्रणालीमा जोखिम बढाउन सक्ने भन्दै कर्जा मूल्याङ्कन, वर्गीकरण तथा अनुगमन प्रक्रियालाई थप प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ।

