काठमाडौं । सिद्धार्थ बैंक को अग्राधिकार शेयर भोलि बिहीबारदेखि दोस्रो बजारमा कारोबारमा आउने भएको छ। नेपाल धितोपत्र बोर्ड ले बैंकलाई ३ अर्ब ५० करोड रुपैयाँबराबरको अग्राधिकार शेयर निष्कासनका लागि अनुमति दिएको थियो।
त्यसपछि बैंकले १०० रुपैयाँ अंकित दरका ३ करोड ५० लाख कित्ता ‘एसबीएल ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ संस्थागत लगानीकर्तालाई बाँडफाँट गरेको थियो, जुन आज नेपाल स्टक एक्सचेन्ज मा सूचीकृत भएको छ।सामान्यतया कुनै पनि कम्पनीको शेयर सूचीकृत भएको दोस्रो दिनदेखि कारोबारमा आउने व्यवस्था अनुसार उक्त शेयर भोलिदेखि किनबेचका लागि खुला हुने भएको हो।
यो अग्राधिकार शेयर भने संस्थागत लगानीकर्ताबीच मात्र कारोबार हुनेछ। सर्वसाधारण लगानीकर्ता, धितोपत्र व्यवसायी तथा सामूहिक लगानी कोषलाई यसको किनबेचमा सहभागी हुन नपाउने व्यवस्था गरिएको छ। उक्त शेयरमा संस्थागत लगानीकर्ताले बैंक नाफामा रहेको वर्षमा मात्र ८.२५ प्रतिशत लाभांश प्राप्त गर्ने व्यवस्था रहेको बैंकले जनाएको छ।


