काठमाडौँ। नेपालमा बैंक तथा वित्तीय संस्थामा खोलिएका निक्षेप खाताको संख्या ६ करोड ३० लाख ६५ हजार ९९४ पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा मात्रै ३६ लाख ३६ हजारभन्दा बढी नयाँ निक्षेप खाता थपिएका छन्।
गत आर्थिक वर्षको सोही अवधिमा देशभर निक्षेप खाताको संख्या ५ करोड ९४ लाख २९ हजार ३६७ रहेको थियो।
यद्यपि, खाताको संख्या नेपालको कुल जनसंख्याभन्दा झण्डै दोब्बर पुगेको भए पनि त्यसलाई प्रत्येक नागरिकको बैंकिङ पहुँच सोही अनुपातमा विस्तार भएको रूपमा भने लिन सकिँदैन।
राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय स्थायित्व प्रतिवेदन २०८१-८२ अनुसार बैंकिङ क्षेत्रको खराब कर्जा (एनपीएल) उल्लेख्य रूपमा बढेको छ। प्रतिवेदनले बैंक तथा वित्तीय संस्थाहरूको कर्जा गुणस्तरमा दबाब बढ्दै गएको देखाउँदै वित्तीय स्थायित्वमा चुनौती थपिएको औँल्याएको छ।
प्रतिवेदनअनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको कुल खराब कर्जा अघिल्लो वर्षको १९९ अर्ब ६६ करोड रुपैयाँबाट बढेर २५८ अर्ब १९ करोड रुपैयाँ पुगेको छ। यससँगै निष्क्रिय कर्जाको अनुपात (एनपीएल रेसियो) पनि बढेर ४.६२ प्रतिशत कायम भएको छ।

