‘ग्लोबल मनी विक २०२६’ आरम्भ (तस्विरहरू)

काठमाडौँ। ‘ग्लोबल मनी विक २०२६’ आरम्भ भएको छ । हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ग्लोबल मनी विकको यो चौधौं संस्करण हो ।

उक्त अभियानको पहिलो दिन नेपाल राष्ट्र बैंकले नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड र सहकारी विभागसँगको सहकार्यमा ग्लोबल मनी विकको उद्घाटन कार्यक्रम भएको हो।

उक्त कार्यक्रममा काठमाडौंस्थित विभिन्न विद्यालयका कक्षा ८ देखि १० सम्म अध्ययनरत करिब ५०० जना विद्यार्थीको सहभागिता थियो । गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले उक्त कार्यक्रमको उद्घाटन गरे । यस अवसरमा उहाँले पैसा कसरी कमाउने, कसरी बचत गर्ने र कसरी सदुपयोग गर्ने भन्ने विषयमा परिवारका सदस्यहरूलाई शिक्षित गर्नु आवश्यक रहेको धारणा व्यक्त गरे। उनले पैसा जुनसुकै पेशामा आबद्ध व्यक्तिका लागि समान रूपमा महत्वपूर्ण हुने भएकाले यसको उचित व्यवस्थापन र सदुपयोगतर्फ विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै गभर्नरको कार्यालयका कार्यकारी निर्देशक दयाराम शर्मा पंगेनीले पैसाको उचित तथा आदर्शतम व्यवस्थापनका बारेमा विद्यार्थीहरूलाई
विद्यालयस्तरदेखि नै शिक्षित गर्ने उद्देश्य यस कार्यक्रमको रहेको जानकारी दिए । साथै, उनले यस्ता कार्यक्रमहरूले वित्तीय साक्षरता र वित्तीय समावेशिता अभिवृद्धिमा सकारात्मक योगदान पुर्याउने उल्लेख गर्दै नेपालमा वित्तीय समावेशिता सूचकाङ्क आर्थिक वर्ष २०२४-२५ मा ०.५३ पुगेको बताए ।

कार्यक्रमको उद्घाटन सत्रमा यस बैंकका कार्यकारी निर्देशक, निर्देशक एवं नेपाल धितोपत्र बोर्ड, नेपाल बीमा प्राधिकरण, सहकारी विभागका उच्च अधिकारी र बैंकरहरूको उपस्थिति थियो । कार्यक्रमको दोस्रो सत्रमा नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, बीमा प्राधिकरण, सहकारी विभाग, बैंकर्स एसोसिएनका अधिकारी र विद्यार्थीहरूको सहभागितामा प्यानल छलफल भएको थियो ।

सो अवसरमा राष्ट्र बंकै का कार्यकारी निर्देशक रामु पौडेल, धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी, बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदी, सहकारी विभागका उपरजिष्ट्रार शशि कुमार लम्साल र नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सन्तोष कोइरालाले आ-आफ्ना निकायको कार्य क्षेत्र र कामकारवाहीसँग सम्बन्धित विषयमा विद्यार्थीलाई जानकारी दिए ।

उक्त अवसरमा उनीहरूले विद्यार्थीले राखेका जिज्ञासाको जवाफसमेत दिएका थिए । नेपाल राष्ट्र बैंक, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाका कामु निर्देशक शिखा अधिकारी रेग्मीले प्यानल छलफलको सहजीकरण गर्दै उनले कार्यक्रमा धन्यवाद ज्ञापनसहित समापन मन्तव्य राखेका थिए।

 

 

 

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै