काठमाडौँ। नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको ९ अर्ब ९० करोड रुपैयाँ बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो ।
जसका लागि चैत ५ गते राति ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ।
कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा ७ अर्ब ६० करोड करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा १ अर्ब ४२ करोड ५० लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा ४७ करोड ५० लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्नेछ।
यो लगानी सन् २०२६ मार्च २४ देखि २०२७ मार्च २४ सम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।
उक्त रकम निक्षेपमा लिन चाहने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्नेछ। राष्ट्र बैंकबाट तोकिएको न्यूनतम कुल पूँजीकोष (बफरसहित) कायम गरेको हुनुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटीको ८ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्नेछ।
खुद तरल सम्पत्ति केन्द्रीय बैंकले तोकेको न्यूनतम सीमा कायम गरेको हुनुपर्ने, कर्जारनिक्षेप अनुपात समयसमयमा निर्धारण गरिएको सीमाभित्र रहेको हुनुपर्ने र निकटतम अघिल्लो आर्थिक वर्षको नाफा नोक्सान हिसाब अनुसार खुद मुनाफामा रहेको हुनुपने सर्त राष्ट्र बैंकको छ।
साथै, निक्षेप लगानी गरिने बैंक तथा वित्तीय संस्था शीघ्र सुधारात्मक कारबाहीमा परेको भए यस्तो कारबाही फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्छ।


