DISH HOME

IME Watch (भाग–१): खल्ती बाई आईएमईमा केवाईसी अपडेट गर्नेहरु होसियार ! तपाईंको हातमा लाग्न सक्छ हतकडी !

काठमाडौँ — के तपाईं खल्ती बाइ आईएमई प्रयोग गर्नुहुन्छ ? यदि गर्नुहुन्छ भने, पछिल्लो समय तपाईंले यस डिजिटल वालेटमा धेरै समस्या देख्नुभएको हुन सक्छ। खल्ती पहिले उत्कृष्ट रूपमा सञ्चालन भइरहेको र ग्राहकबीच लोकप्रिय वालेट मानिन्थ्यो। तर, आईएमईले खल्ती खरिद गरी खल्ती बाइ आईएमई बनाएको केही समयमै वालेटमा समस्या आउन थालेका छन्।

कारोबारको विवरण नदेखिनु, टिकट काट्न खोज्दा नकाटिनु, पेमेन्ट नहुने, पेमेन्ट भएको देखिए पनि रकम नपुग्ने जस्ता समस्या आईएमई पेमा देखिन थालेका छन्। इसेवामा समस्या आइरहेको बेला दुई वालेट मर्ज हुँदा धेरैले अब खल्ती नम्बर १ वालेट बन्ने अपेक्षा गरेका थिए। तर मर्जरपछि लगातार समस्या बढ्दै गएपछि, अब खल्ती बाइ आईएमई होइन, खल्ती बाइबाइ आईएमई बन्ने सम्भावना बढेको बताइन्छ।

संस्था जति ठूलो हुन्छ, जिम्मेवारी पनि त्यति नै बढ्छ। यही जिम्मेवारी नबुझ्दा, आईएमईले खरिद गरेपछि खल्तीमा समस्या देखिन थालेको विश्लेषकहरू बताउँछन्। जानकारहरूका अनुसार, हाल खल्तीमा समस्या देखिनुका दुई मुख्य कारण छन्—
१. खल्तीमा पहिले जस्तो समर्पित टोलीले काम नगर्नु, र
२. दुईवटा वालेटका डाटा मर्ज गर्दा प्राविधिक त्रुटि हुनु ।

धेरै प्रयोगकर्ताले एउटै समयमा वालेट प्रयोग गर्दा प्रणालीमा लोड बढेको र सावधानी नअपनाउँदा समस्या तीव्र भएको बताइन्छ।

खल्ती बाइ आईएमईका कर्मचारीहरूले पनि वालेटमा पटक–पटक समस्या आएको स्वीकार गरेका छन्। अर्थ खबरसँगको कुराकानीमा उनीहरूले मर्जरपछि विभिन्न समस्या देखिएको, दैनिक दर्जनौँ गुनासा आउने, ती समस्या समाधान गर्न प्रयास भइरहे पनि स्रोत अभावका कारण समाधान ढिलो भइरहेको बताएका छन्।

खल्तीका युजरको डाटा लिक, सुरक्षित छैन खल्ती बाइ आईएमई!

खल्ती बाइ आईएमईमा लगातार समस्या देखिइरहेका बेला युजरहरूको व्यक्तिगत विवरण चोरी भएको खुलासा भएको छ। खल्ती मर्ज हुनु अघि नै, कम्पनीका केही कर्मचारीहरूले सेवाग्राहीहरूको व्यक्तिगत कागजात र विवरण आपराधिक गिरोहलाई बिक्री गरेको तथ्य सार्वजनिक भएको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रारम्भिक अनुसन्धान अनुसार, कमिसनको लोभमा खल्तीका कर्मचारीहरूले ग्राहकका गोप्य विवरण ह्याकर समूहलाई बिक्री गर्दै आएका थिए। कतिपय विवरण इसेवाका कर्मचारीलाई समेत दिइएको आरोप छ।

प्रहरीका अनुसार, केवाईसी भेरिफिकेसनको क्रममा ग्राहकले अपलोड गरेका नागरिकताको प्रतिलिपि, फोटो लगायतका कागजात खल्तीका केही कर्मचारीहरूले डाउनलोड गरी ह्याकरहरूलाई उपलब्ध गराएका थिए। ती कागजात प्रयोग गरेर फर्जी बैंक खाता खोल्ने र अवैध कारोबार गर्ने कार्यमा प्रयोग गरिएको पाइएको छ।

यसको अर्थ, तपाईंले पनि खल्ती प्रयोग गर्दै केवाईसी अपलोड गर्नुभएको छ भने, तपाईंको नाममा फर्जी बैंक खाता खोली करोडौँको अवैध कारोबार हुनसक्छ — जसको अन्त्यमा हतकडी तपाईंको हातमा पनि पर्न सक्छ।

प्रहरीले जनाएको छ, खल्तीका कर्मचारीहरूले डाउनलोड गरेका ती विवरणहरू सिमकार्ड लिन र बैंक खाता खोल्न प्रयोग भइरहेका थिए, जसबाट गैरकानुनी काम भइरहेको पाइएको छ।

घटनामा संलग्न आरोपमा खल्ती वालेटका तीन कर्मचारी पक्राउ परेका छन्। प्रहरीका अनुसार, ती कर्मचारीहरू कम्पनीको केवाईसी प्रमाणीकरण विभागमा कार्यरत थिए र सेवाग्राहीहरूले अपलोड गरेका विवरण आपराधिक समूहलाई उपलब्ध गराउँथे। अनुसन्धान जारी छ र अन्य संलग्न व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीको भनाइ छ।

राष्ट्र बैंक मौन

यस्तो गम्भीर घटना बाहिरिए पनि नेपाल राष्ट्र बैंकले अहिलेसम्म खल्तीमाथि कुनै ठोस कारबाही गरेको छैन। प्रारम्भिक चेतावनी दिइए पनि, आईएमईले खल्ती खरिद गरेपछि कारबाही रोकिएको दाबी खल्तीकै कर्मचारीहरूले गरेका छन्।

यस विषयमा अब राष्ट्र बैंक, नियामक निकाय र स्वयं ग्राहक सबैले सचेत रहनुपर्ने देखिएको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै