काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले लुम्बिनी प्रदेश सरकारको निर्देशन अटेरी गरेको पाइएको छ भने आफ्ना महिला कर्मचारीहरुको भावनामाथि चरम खेलबाड गरेकोसमेत पाइएको छ । यसै पनि लुम्बिनी प्रदेश सरकारले तीजमा प्रदेशभर सार्वजनिक बिदा दिएको छ, अन्य प्रदेशले यसरी बिदा नखुलाए पनि देशभर बैंकका महिला कर्मचारीहरुलाई बिदा दिइएको छ । लुम्बिनी प्रदेशमा त प्रदेश सरकारको बिदा भन्दै अन्य बैंकहरुमा बिदा दिईएको छ । तर, सांग्रिला डेभलपमेन्ट बैंकले भने तीजको दिन नै महिला कर्मचारीहरुलाईसमेत बिदा नदिएर, हिन्दु महिलाहरुको अपमान गरेको छ भने प्रदेश सरकारलाई पनि अटेरी गरेको छ ।
अव तपाईंहरुलाई लाग्ला बैंकमा होलिडे काउन्टर चलेको होला । तर होइन, सांग्रिला डेभलपमेन्ट बैंकमा तीजको दिन पनि फुल टाइम अफिस लागेको छ । सांग्रीलाका महिला कर्मचारीहरुले आफुहरु फुल टाइम नै काम गरिरहेको पुष्टी गरेका छन् । बैंकको लुम्बिनी प्रदेशस्थित एक शाखामा काम गरिरहेकी महिला कर्मचारीले आफु फुल टाइम नै काम गरिरहेको र बैंकमा बिदा नभएको पुष्टी गरेकी हुन् । प्रदेशका एक शाखा प्रबन्धकले पनि बैंकले महिला कर्मचारीहरुको भावनामाथि चरम खेलबाड गरेको र आफ्ना सहकर्मीहरुले तीजको दिन पनि खल्लो मानेर काम गरिरहेको गुनासो गरेका छन् । ‘सिनियर मेनेजमेन्टमा २ जना त महिला नै हुनुहुन्छ । उहाँहरु बरु बिदामा हुनुहुन्छ होला, तर यहाँ शाखामा आज तीजको दिन पनि बिदा दिईएन । आज महिलाहरुलाई बिदा दिएर पुरुषहरुले मात्र शाखा चलाउँ भन्दा पनि माथि बाट मानिएन । प्रदेश सरकारको निर्णय मान्न आवश्यक छैन भनियो ।’ ती प्रबन्धकले भने ।
यता लुम्बिनी प्रदेश सरकारका सांसदहरुले भने प्रदेशले विदा दिने निर्णय गरिसकेपछि यो वा त्यो बहानामा कसैले पनि निर्देशन नमान्ने गरे कारवाही हुने बताईरहेका छन् । तर बैंक पर्यो सांग्रिला, कारवाही कसले गर्ने ?
‘बैंकमा अहिले सीइओ सुयोग श्रेष्ठ छन् । उनी डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष पनि हुन् । तर उनै श्रेष्ठ न प्रदेश सरकारको निर्देशन टेरछन्, न तीज कतिसम्म महान चाड हो भन्ने कुरो बुझ्छन् । अरे, नाफा घाटाभन्दा माथि पनि त संसार छ नि होइन र ?’ बैंकको अर्को एक शाखाका प्रबन्धक भन्छन्, ‘प्रदेश सरकारले बिदा दे भन्दा पनि, बिदा नदिने, त्यो पनि तीजको दिन । यो त अन्याय मात्र होइन, अत्याचार भयो ।’
यता बैंकका सूचना अधिकारी यस विषयमा बुझ्न सम्पर्क गर्न खोज्दा सम्पर्कमै आईरहेका छैनन् । उनी घरमा महिलाहरुको ब्रत छ भनेर छिट्टै घर निस्केको हुन सक्ने अनुमान कर्मचारीहरुले गरेका छन् ।