prabhu

बैंकिङ ट्रेण्डिङ न्युज: बैंकिङ क्षेत्रका साताभरका चर्चित १९ खबर !

गाडी किन्न चाहनेलाई नेपाल बैंकले ऋण दिने !

१ . नेपाल बैंकले गाडी किन्न चाहनेहरूलाई ५ वर्षदेखि ७ वर्षसम्मको अबधीका लागि ६.२६ प्रतिशत ब्याजदरमै ऋण दिने भएको हो। बैंकले आफ्ना ग्राहकहरूको गाडी किन्ने सपना पुरा गर्ने उदेश्यले सम्पूर्ण शाखामार्फत गाडी कर्जा दिन लागेको हो। यस्तो ऋण लिन चाहने ग्राहकहरूले सिधै बैंकमा सम्पर्क गर्नुपर्ने नेपाल बैंकले जनाएको छ।

ऋणीहरुलाई ऋण तिर्न २१ दिनको समय !

२ . लुम्बिनी विकास बैंकले ऋणीहरुलाई ऋण तिर्न २१ दिनको समय दिएको छ। बैंकले ऋणीहरुलाई लिखित तथा पटकपटक फोन गरेर ताकेता गर्दा पनि ऋण तिर्न नआएपछि बैंकले ऋणीहरुलाई ऋण तिर्न २१ दिनको समय दिएको हो । सो समयमा पनि ऋणको सावाँ तथा ब्याज तिर्न नआउने ऋणीहरूको सम्पति लिलाम गर्ने बैंकले चेतावनी दिएको छ ।

गभर्नरले सर्वोच्च अदालतमा पठाए लेखित जवाफ !

३ . नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले सर्वोच्च अदालतमा आफ्नो नियुक्ति सम्बन्धी रिटमा लेखित जवाफ दिएका छन्। सर्वोच्च अदालतमा शैक्षिक योग्यता नपुगेको दाबीसहित दायर रिटमा राष्ट्र बैंकका गभर्नर पौडेलले आफ्नो शैक्षिक योग्यता राष्ट्र बैंक ऐनले तोकेभन्दा माथिल्लो रहेको जिकिरसहितको लिखित जवाफ अदालतमा पठाएका हुन् ।

राष्ट्र बैंकद्वारा मार्गदर्शन जारी !

४ . नेपाल राष्ट्र बैंकले ‘भुक्तानीसम्बन्धी कार्य गर्न अनुमति प्राप्त संस्थाका लागि लाभांश वितरणसम्बन्धी मार्गदर्शन, २०८२’ जारी गरेको छ । राष्ट्र बैंकले साउन ४ गते एक सूचना जारी गर्दै बैंकबाट भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्रप्राप्त संस्था ९बैंक तथा वित्तीय संस्था बाहेक० ले आर्जन गरेको मुनाफाको बाँडफाँड तथा लाभांश वितरणसम्बन्धी व्यवस्थालाई पारदर्शी एवं थप व्यवस्थित बनाउने अभिप्रायले यो मार्गदर्शन जारी गरिएको जनाएको हो।

बैंकिङ प्रणालीमा अत्यधिक तरलता !

५ . बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी क्षमता अत्यधिक भए पनि लगानीयोग्य क्षेत्रमा माग नहुँदा ६ खर्ब ९३ अर्ब रुपैयाँभन्दा बढी रकम राष्ट्र बैंकमै थन्किएको छ । आर्थिक गतिविधि कमजोर बनेका कारण बैंकिङ प्रणालीमा अत्यधिक तरलता रहँदै आएको छ, जुन राष्ट्र बैंकका लागि समेत चुनौती बनेको छ।

‘चेक अनादर बैंकिङ कसुरसम्बन्धी अपराध’

६ . नेपाल राष्ट्र बैंकले चेक अनादर बैंकिङ कसुरसम्बन्धी अपराध रहेको जनाएको छ। राष्ट्र बैंकले एक सूचना जारी गर्दै चेक अनादर बैंकिङ कसुरसम्बन्धी अपराध रहेकाले यसबाट बच्न आग्रह गरेको हो। आफ्नो खातामा रकम मौज्दात नभएको वा भए पनि भुक्तानीका लागि पर्याप्त नभएको अवस्थामा कसैलाई चेक जारी गर्न नहुने राष्ट्र बैंकले जनाएको छ।

सिन्धु विकास बैंकको नाफा बढ्यो !

७ . सिन्धु विकास बैंकको नाफा बढेको छ। गत आर्थिक वर्ष २०८१-८२ मा बैंकको खुद नाफा २८७.६० प्रतिशतले बढेको हो । यस अवधीमा बैंकले ११ करोड ७८ लाख ७८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ।

बैंकिङ कसुरको अपराधमा एक जना व्यक्ति पक्राउ !

८ . बैंकिङ कसुरको अपराधमा एक जना व्यक्ति पक्राउ परेका छन्। उच्च अदालत पाटनले २० लाख जरिवाना, ४ दिन कैद र क्षतिपुर्ति बापत ८ हजार रुपैयाँ पीडित राहत कोषमा बुझाउनु पर्ने ठहर गरेसँगै फरार भएका ४९ वर्षीय बृहस्पति राई पक्राउ परेका हुन् ।

वाणिज्य बैंक र दुई फाइनान्स कम्पनी कारबाहीमा 

९ . नेपाल राष्ट्र बैंकले दुई वाणिज्य बैंक र दुई फाइनान्स कम्पनीमाथि नियम उल्लंघन गरेको भन्दै कारबाही गरेको छ।  राष्ट्र बैंकले सिटिजन्स बैंक र आईसी एशिया बैंकलाई कारबाही गरेको हो । कारबाहीस्वरूप केन्द्रीय बैंकले केहीलाई आर्थिक जरिवाना लगाएको छ भने केहीलाई चेतावनीसहित सचेत गराएको छ।

ठगी गरेको आरोपमा तीन जना पक्राउ

१० . बैंक ब्यालेन्स देखाउने भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा काभ्रेको बनेपाका २३ वर्षीय विशाल घिमिरे, सर्लाहीको लालबन्दीका २५ वर्षीय समीर सिंह र सर्लाहीकै कबिलासीका २६ वर्षीय अशोक कुमार यादव रहेका छन्। उनीहरूले अमेरिका जानका लागि बैंक ब्यालेन्स देखाउने भन्दै रकम हाल्न लगाएर फिर्ता नगरी ठगी गरेको पाइएको हो।

मेगाटेक सोलुसनमा नबिल बैंकले तालाबन्दी गर्यो 

११ . कर्जा नतिरेपछि मेगाटेक सोलुसनमा नबिल बैंकले तालाबन्दी गरेको छ ।  बैंकबाट लिएको कर्जा तिर्न नसकेपछि बैंकले बुधबार प्रहरीको रोहबरमा विराटनगरस्थित कम्प्युटर तथा इलेक्ट्रोनिक उपकरण विक्रेता मेगाटेक सोलुसनको मुख्य पसलमा तालाबन्दी गरेको हो ।

 बंगलादेशको हौलादार युनुस एन्ड कम्पनीले पायो ठेक्का 

१२ . देशका १० ठूला वाणिज्य बैंकको सम्पत्ति गुणस्तर मूल्याङ्कन गर्न बंगलादेशको हौलादार युनुस एन्ड कम्पनीले ठेक्का पाएको छ।नेपाल राष्ट्र बैंकले परामर्श सेवाका लागि सार्वजनिक सूचना जारी गर्दै सो कम्पनीलाई छनोट गरिएको जनाएको हो। यो कामका लागि कम्पनीले ६२ लाख ५४ हजार ९१२ रुपैयाँमा सम्झौता गरेको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा बढ्यो 

१३ . सांग्रिला डेभलपमेन्ट बैंकको नाफा बढेको छ। बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा ६।५१ प्रतिशतले बढेको हो । चौथो त्रैमाससम्ममा बैंकले ५३ करोड ७० लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

सबैभन्दा धेरै कर तिर्नेमा नबिल बैंक अग्रस्थानमा

१४ . सबैभन्दा धेरै कर तिर्नेमा नबिल बैंक अग्रस्थानमा रहेको छ । नेपाल लाइफ इन्स्योरेन्स दोस्रो स्थानमा रहँदा ग्लोबल आईएमई बैंक तेस्रो स्थानमा परेको हो ।  तर, साउन महिनासम्म कर तिर्ने समय बाँकी रहेकाले हालसम्म तिरेको रकम अन्तिम नहुनसक्ने कर कार्यालयले जनाएको छ।

कर्मचारीले ३ महिनाको तलब बराबरको बोनस पाए 

१५ . नबिल बैंकले आफ्ना कर्मचारीलाई  ३ महिनाको तलब बराबरको बोनस  दिएको पाइएको छ । बैंकले कर्मचारीलाई ‘क्लोजिङ बोनस’ भन्दै ३ महिनाको तलब बराबरको बोनस खातामा पठाएको पाइएको हो ।

तीनै जना संचालकले एकैपटक दिए राजीनामा

१६ . धौलागिरी लघुवित्तका तीनै जना संचालकले एकैपटक राजीनामा दिएका छन् । लघुवित्तका संचालक सुमनप्रसाद श्रेष्ठ, शालिकराम शर्मा र गणेश पौडेले राजीनामा दिएका हुन् । कम्पनीको साउन ८ गते बसेको सञ्चालक समितिको बैठकले तीनै जना संचालकको राजीनामा  स्वीकृत गरिसकेको छ।

राष्ट्र बैंकले ५० रुपैयाँ दरका नयाँ नोट छाप्ने

१७ . नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका नयाँ नोट छाप्ने भएको छ । बैंकले ५० रुपैयाँ दरका ४२ करोड थान नयाँ नोट छाप्ने भएको हो ।  यसका लागि राष्ट्र बैंकले  अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्दै इच्छुक कम्पनीहरूलाई प्रस्ताव पेश गर्न आह्वान गरेको छ ।

ज्योति विकास बैंक १८औँ वर्षमा प्रवेश

१८ . ज्योति विकास बैंक १८औँ वर्षमा प्रवेश गरेको छ। बैंक १७ वर्ष पुरा गरी १८औँ वर्षमा प्रवेश गरेको हो । बैंकले विभिन्न कार्यक्रमहरू आयोजना गरी वार्षिकोत्सव  मनाएको छ । स्थापना भएको १७ वर्षमै बैंकले सूचना सुरक्षा व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त आइएसओ प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ।

कर्णाली डेभलपमेन्ट बैंकमा ३ अर्ब २० करोडको घोटाला 

१९ . कर्णाली डेभलपमेन्ट बैंकमा ३ अर्ब २० करोडको घोटाला भएको सिआइबीले निष्कर्ष निकालेको छ ।  बैंकमा सञ्चालक, कर्मचारी र ऋणीहरूको मिलेमतोमा करिब ३ अर्ब २० करोड रुपैयाँ बराबरको हिनामिना भएको  सिआइबीले निष्कर्ष निकालेको हो । ब्युरोका अनुसार घोटालामा राष्ट्र बैंकका पूर्वकर्मचारीसहित बैंकका शीर्ष पदाधिकारी, कर्मचारी र ऋणीहरू संलग्न छन्।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै