काठमाडौँ। हिमालयन बैंकले एफपीओ निष्काशन गरेको छ । नेपाल धितोपत्र बोर्डले हिमालयन बैंकलाई १ अर्ब ४५ करोड २३ लाख २३ हजार रकमबराबर एफपीओ जारी गर्न अनुमति दिएसँगै बैंकले असार ३२ गते एफपीओ निष्काशन गरेको हो।
जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकितदरमा ५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता १५७ रुपैयाँमा ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ जारी गर्न लागेको छ ।
बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने भएकोले बैंकले एफपीओ जारी गरेको हो।
हाल बैंकको कुल चुक्ता पूँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार ६३१ रुपैयाँ रहेको छ। जसमध्ये ७२.९९ प्रतिशत हिस्सा संस्थापक समूहको रहेको छ भने २७.०१ प्रतिशत हिस्सा सर्वसाधारणको रहेको छ।
अब सर्वसाधारण समूहको हिस्सा ३० प्रतिशत पुर्याउन बैंकले १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा ५७ रुपैयाँ थप गरी जम्मा १५७ रुपैयाँमा ९२ लाख ५० हजार ४६९ कित्ता थप सार्वजनिक निष्काशन गर्न लागेको हो।
एफपीओ निष्काशनपश्चात बैंकको चुक्ता पूँजी २२ अर्ब ५८ करोड १६ लाख ६२ हजार ५३१ रुपैयाँ ९० पैसा पुग्नेछ। बैंकको उक्त एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा साउन ४ गते हुनेछ भने सो अवधिसम्ममा पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि असार १४ गतेसम्म लम्बिने बैंकले जनाएको छ।