काठमाडौँ। अघिल्लो पटक गभर्नरमा सिफारिस भएका संचालक चिन्तामणि शिवाकोटीले नोट अफ डिसेन्ट लेख्ने भएपछि नयाँ बैंकको लाइसेन्सको कुरा अहिलेका लागि खारेज भएको छ। संचालक शिवाकोटीले लाइसेन्स दिने कुरा लेखिए आफूले फरक मत राख्ने भनेपछि नयाँ बैंकको लाइसेन्सको कुरा अहिलेका लागि ‘ढिसमिस’ भएको हो।
नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल आफ्नो पहिलो मौद्रिक नीतिबाट बैंकको लाइसेन्स खुला गर्ने पक्षमा थिए। तर, शिवाकोटीले नोट अफ डिसेन्ट लेख्ने भएपछि नयाँ बैंकको लाइसेन्सको कुरा अहिलेका लागि खारेज भएको बुझिएको छ।
गभर्नरको चाहना पनि २०६७ सालदेखि रोकिएको लाइसेन्स विशेष सर्तहरूसहित खोल्नु पर्छ भन्ने थियो। तर, उक्त प्रस्ताव अगाडि बढ्न सकेन।
पछिल्लो समय राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बोल्दै नयाँ बैंक सञ्चालनका लागि इजाजतपत्र (लाइसेन्स) खुला गर्नुपर्छ भनेका थिए। उनले वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको लाइसेन्स डेढ दशकदेखि नदिएको र लघुवित्तको पनि इजाजतपत्र ६ वर्षदेखि नदिएकोमा अब भने लाइसेन्स खोल्नुपर्ने उल्लेख गरेका थिए।