काठमाडौं । नेपाल राष्ट्र बैंकले नष्ट वा क्षतिग्रस्त नोटको सट्टा नयाँ नोट प्राप्त गर्न सकिने व्यवस्था रहेको भन्दै नागरिकहरूलाई नोटको जतन गर्न आग्रह गरेको छ। राष्ट्र बैंकले ‘नोटको जतन गरौं, झुत्रो नोटको समयमा दावी गरौं’ भन्ने सन्देश सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो।
राष्ट्र बैंकका अनुसार आगोले जलेका, किराले खाएका, पानीले भिजेका, च्यातिएका वा अन्य कारणले चलनचल्ती अयोग्य भएका नोटहरू ‘नेपाल राष्ट्र बैंक नोट सट्टा भर्ना नियमावली, २०५९’ अनुसार साट्न सकिन्छ। यस्ता नोटहरू राष्ट्र बैंकमा दावी पेश गरेर साट्नुपर्नेछ।
तर, डिजाइन मेटिएको, पचास प्रतिशतभन्दा कम भाग बाँकी रहेको, अत्यधिक विकृत वा पहिचान गर्न नसकिने नोट साट्न नसकिने राष्ट्र बैंकले स्पष्ट पारेको छ।
त्यस्तै, आगलागी वा अन्य दैवी प्रकोपबाट नष्ट भएका नोट साट्न स्थानीय तह वा प्रहरी कार्यालयको सिफारिस अनिवार्य हुने व्यवस्था पनि रहेको राष्ट्र बैंकले जनाएको छ।