काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बुधबार) राति मन्त्रिपरिषद बैठक आह्वान गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा राति ८ बजे बस्ने बैठकमा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिमा नयाँ सदस्य नियुक्त गर्ने सम्भावना रहेको छ।
यसअघि समितिका सदस्य डा. विश्व पौडेलले राजीनामा दिएपछि सो पद खाली छ। पौडेलको राजीनामासँगै उनी स्वयं गभर्नरको दौडमा छन् । कांग्रेसले उनलाई गभर्नरका लागि प्रस्ताव गरेको बताइएको छ। पौडेल राष्ट्रिय योजना आयोगका पूर्वअध्यक्षसमेत हुन्।
यसअघि प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति बनेको थियो। सहमतिअनुसार भट्टले कार्यकारी पदबाट राजीनामा पनि दिएका थिए। तर, कार्यवाहक गभर्नर नीलम ढुंगानाले उक्त राजीनामा स्वीकृत नगरेपछि कांग्रेसले विकल्पस्वरूप डा. पौडेलको नाम अघि सारेको स्रोतको दाबी छ।
दुई प्रमुख दलबीचको भागबण्डाअनुसार गभर्नरको जिम्मेवारी कांग्रेसले लिने सहमति भएको जनाइएको छ। आजको मन्त्रिपरिषद बैठकले सिफारिस समिति सदस्यबारे निर्णय लिने सम्भावना उच्च रहेको छ, जसपछि गभर्नर नियुक्तिको प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ।