prabhu

नगदको बाढी नियन्त्रणमा राष्ट्र बैंक, फेरि ठूलो रकम तान्दै

काठमाडौं । बैंकिङ प्रणालीमा अत्यधिक तरलता (बढी नगद प्रवाह) थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरणमार्फत पैसा संकलन गरिरहेको छ। यही क्रमलाई निरन्तरता दिँदै राष्ट्र बैंकले आज (वैशाख ३१ गते) फेरि ३५ अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तान्ने भएको छ।

केन्द्रीय बैंकले जारी गरेको सूचना अनुसार, निकषेप संकलनका लागि आज दिउँसो ३ बजे बोलकबोल हुनेछ। यस प्रक्रिया अन्तर्गत ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले भाग लिन सक्नेछन्।

बोलकबोलमा सहभागी हुन चाहने संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम कुल आह्वान रकमको ५ प्रतिशतसम्म बोलकबोल गर्न सक्नेछन्। बोलकबोल ब्याजदरका आधारमा हुनेछ, जसमा बहुब्याजदरमा बहुबोलकबोल गर्न सकिने सुविधा पनि दिइएको छ।

यो २१ दिने अवधिको निक्षेप संकलन हुनेछ, जसको साँवा तथा ब्याज जेठ २१ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

पछिल्ला महिनाहरूमा कर्जाको माग सुस्त हुँदा बैंकहरूमा तरलता अत्यधिक बढेको छ। यही कारण, बैंक तथा वित्तीय संस्थाहरू केन्द्रीय बैंकलाई करिब ३ प्रतिशत हाराहारी ब्याजदरमा पैसा राख्न बाध्य भइरहेका छन्। राष्ट्र बैंकले यो स्थिति नियन्त्रण गर्न लगातार निक्षेप संकलन गरेर प्रणालीमा ‘सन्तुलन’ ल्याउने प्रयास गरिरहेको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै