काठमाडौं । ग्लोबल आइएमई बैंकले नेपाल क्लियरिङ्ग हाउससँगको सहकार्यमा कार्डमा आधारित अनलाइन ग्लोबल पेमेन्ट गेटवे सञ्चालनमा ल्याएको छ । यो गेटवेमार्फत अब बैंकका मर्चेन्टहरूले भिसा तथा मास्टर कार्डमार्फत, जुनसुकै राष्ट्रिय वा अन्तर्राष्ट्रिय बैंकबाट भुक्तानी प्राप्त गर्न सक्नेछन्।
ई-कमर्स कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले बैंकले यो गेटवे सुरु गरेको हो । यसको माध्यमबाट मर्चेन्टहरूलाई अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पुर्याउन मद्दत पुग्नेछ । गेटवेको शुरुवातसँगै ट्राभल तथा टुर एजेन्सी, होटल, एयरलाइन्स, अस्पतालजस्ता व्यवसायहरूले सहज रूपमा भुक्तानी प्राप्त गर्न सक्नेछन् ।
गेटवेमा थ्रीडी सेक्योर प्रविधि प्रयोग हुने भएकाले यसमार्फत हुने सबै कारोबारहरू सुरक्षित हुने बैंकले जनाएको छ । यस प्रणालीले बैंकका मर्चेन्टहरूको व्यापार विस्तारमा थप टेवा पुर्याउने विश्वास गरिएको छ । ग्राहकको सुविधालाई प्राथमिकता दिँदै, ग्लोबल आइएमई बैंकले समयसापेक्ष सेवाहरू ल्याउँदै आएको छ । यसैक्रममा सुरु गरिएको ग्लोबल पेमेन्ट गेटवे पनि डिजिटल कारोबारलाई सशक्त बनाउने उद्देश्यले गरिएको पहल हो ।
ग्लोबल आइएमई बैंक हालै ‘ग्लोबल फाइनान्स बेष्ट बैंक अवार्ड २०२४’ र ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत नेपालको सर्वश्रेष्ठ बैंकको उपाधिले सम्मानित भएको छ । यस्तै, बैंकले अन्य धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट पनि विभिन्न विधामा सम्मान पाएको छ।
७७ वटै जिल्लामा सेवा विस्तार गरेको बैंकले ३५४ शाखा, ३८५ एटीएम, २२१ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर, साथै ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत १,१०० भन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गरिरहेको छ।
बैंकले नेपालमा मात्र नभई, संयुक्त राज्य अमेरिका, बेलायत, क्यानाडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत उपलब्ध गराउँदै आएको छ।