काठमाडौँ । सरकारले बैङ्किङ र पुँजीबजारका समस्या क्रमश समाधान गर्ने भएको छ । मंगलबार आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले बैंकिङ र पुँजीबजारका समस्या क्रमश समाधान गरिने र समाधानका सुझावहरूलाई कार्यान्वयन गरिने बताएका हुन् ।
संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले भने- ‘नियमन र सुपरिवेक्षणलाई सुदृढ गर्दै वित्तीय क्षेत्रलाई स्वस्थ, प्रतिस्पर्धी र भरपर्दो बनाइनेछ । बैंक तथा वित्तीय संस्था, लघुवित्त, सहकारी, बिमा र पुँजीबजारमा देखिएका समस्यालाई समाधान गर्न विभिन्न समयमा भएका अध्ययनले देखाएका सुझावलाई क्रमश कार्यान्वयन गरिने र सरकारले लघुवित्तका ऋणीहरूको कर्जा पुनर्तालिकीकरण तथा पुनर्संरचना गर्ने व्यवस्था मिलाइने छ ।’
राष्ट्रपति पौडेलले बैंक तथा वित्तीय क्षेत्रलाई स्वस्थ प्रतिस्पर्धी र भरपर्दो बनाइने बताउँदै सार्वजनिक ऋणको विवेकपूर्ण छनौट गरि अधिकतम प्रतिफल प्राप्त हुने क्षेत्रमा परिचालन गरिने बताए । आन्तरिक ऋणको उपयोग, पुँजी निर्माण तथा उत्पादनशी क्षेत्रमा मात्र खर्च गरिने बताएका छन् । पौडेलले बैंक तथा वित्तीय क्षेत्रको सुदृढीकरणका लागि आवश्यक कार्यक्रम बनाउने पनि घोषणा गरेका छन् ।