राष्ट्रिय वाणिज्य बैंकमा हदैसम्मको मनपरी, सिइओका साढुदाई नै अडिटर  कसले रोक्ने, कसले छेक्ने बैंकको मनपरी ?

काठमाडौँ। राष्ट्रिय वाणिज्य बैंक, अर्थात देशको एक मात्र पूर्ण सरकारी स्वामित्वको बैंक । राजनीतिले गिजोलिएको बैंकमा देशमा जेनजी आन्दोलन भएपछि केहि सुधारको अपेक्षा थियो । तर, अहँ ! बैंकको बदमासी रोकिएको छैन । बरु अध्यक्ष राष्ट्र बैंककै पूर्व हाकिम, सीइओ माओवादीको खास मान्छे, संचालक जेनजी सरकारका पूर्व मन्त्री पुनका पनि साझेदार, पूर्व मन्त्रीका पनि नातेदार ।

सीइओले बदमासी गरिहाले पनि सीइओका साढुदाई नै अडिटर  कसले रोक्ने, कसले छेक्ने राष्ट्रिय वाणिज्य बैंकको मनपरी ? पछिल्ला ४ घटनालाई बुझाउने कोसिस गर्दैछौँ, जसले राष्ट्रिय वाणिज्य बैंक कहिल्यै नसुध्रिने पीरलाई थप बल दिने भान भएको छ ।

घटना नम्बर १ 

जेनजी आन्दोलनका क्रममा राष्ट्रिय बाणिज्य बैंक लुटियो । बैंकमा धितोमा राखिएको भनिएको किलोका किलो सुन र पैसा लुटिएको विवरण सार्वजनिक भयो । लकरमा राखिएको सुन जोगिनु, र धितोमा भएको सुन हराउनुलाई शंकास्पद मानियो । अझ, बैंकभित्र धितोका रुपमा थुप्रै नक्कली सुन थियो, र त्यसको एडजष्टमेन्ट भयो भन्नेसम्मका चर्चाहरु स्वयम् बैंकका कर्मचारीहरुले गरे, तर त्यसको छानविनको आवश्यकता ठानिएन ।

घटना नम्बर २

राष्ट्रिय वाणिज्य बैंकमा आफ्नै सहकर्मीमाथि दुर्व्यवहार गरेको केसका दोषी ठहर भएका व्यक्ति देव कुमार ढकाल अध्यक्ष नियुक्त भए । कुनै बेला राष्ट्र बैंकको हाकिम भएर काम गरेका ढकाललाई देशको संवैधानिक आयोग महिला आयोगले महिला हिंशाको केसमा दोषी ठहर गरेको थियो । तर ढकाललाई कारवाही भएन, बरु उल्टै उनले नियुक्ति पुरस्कार पाए । जेनजी आन्दोलनपछिको सरकारले उनलाई बर्खास्त गर्न सक्छ भन्ने आंकलन धेरैको थियो, तर केहि भएन ।

घटना नम्बर ३ 

राष्ट्रिय वाणिज्य बैंकमा हरि सिलवाल गैरकानुनी रुपमा संचालक नियुक्त भए । उनी बैंकको ऋणी हुँदाहुँदै पनि बैंकको संचालक बनेका थिए । एमालेका अर्थमन्त्री विष्णु पौडेलको आफन्तको नाता लगाएर नियुक्ति पाएका उनी जेनजी आन्दोलनपछि बैंकबाट निकालिन्छन् भन्ने धेरै लागेको थियो । तर जेनजी आन्दोलनपछि बनेको सरकारका मन्त्री महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रका सिलवाल डाइरेक्टर भएका कारण सिलवाललाई जेनजी सरकारले केहि पनि गरेन । पुनको मान्छे भन्दै अहिले पनि उनी बैंकमा निरन्तर काममा छन् ।

घटना नम्बर ४ 

राष्ट्रिय वाणिज्य बैंकमा भएका बदमासीहरु बाहिर नल्याउनेगरी स्वार्थको द्वन्दको प्रष्ट संकेत हुनेगरी बैंकको अडिट सकियो । साढुदाइ प्रकाश लम्साल अडिटर, र साढुभाइ देवेन्द्र रमण खनाल सीइओ भएपछि बैंकका अनेक काण्ड, बदमासी र अनियमिता बाहिर आउन पाएन । जेनजी आन्दोलनपछि सरकारी बैंक सुध्रिन्छ कि भन्ने धेरैलाई लागेको थियो । तर यहाँ पनि राष्ट्रिय बाणिज्य बैंकमा मनपरी भईरह्यो ।

नागरिकको भनिएको सरकारले राष्ट्रिय बाणिज्य बैंकमा भए गरेको मनपरी हेरी नै रह्यो । राष्ट्र बैंककै पूर्व हाकिम अध्यक्ष भएकाले राष्ट्र बैंक कठोर नभएको हुन सक्छ । भन्नेले त्यसै भनेका होइनन् सायद, देश पशुपति नाथको कृपाले मात्र चलिरहेको छ ।

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै