काठमाडौँ। भारतीय रिजर्भ बैंक (आरबीआई) को विशेष अमेरिकी डलर भारतीय रुपैयाँ विदेशी विनिमय (फोरेक्स) स्वाप सुविधामार्फत सेप्टेम्बर १८ सम्म १४३.५९६ अर्ब अमेरिकी डलर बराबरको विदेशी मुद्रा भित्रिएको छ। जसमध्ये अधिकांश रकम फरेन करेन्सी ननरेसिडेन्ट (बैंक) निक्षेपमार्फत परिचालन भएको आरबीआईको तथ्यांकले देखाएको छ।
आरबीआईका अनुसार अधिकृत डिलर बैंकहरूले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार स्वाप सुविधाअन्तर्गत परिचालन भएको फरेन करेन्सी ननरेसिडेन्ट (बैंक) निक्षेप १३२.९८ अर्ब डलर पुगेको छ। यस्तै, ओभरसिज फरेन करेन्सी बोरोइङबाट ५.३२ अर्ब डलर र एक्सटर्नल कमर्सियल बोरोइङबाट ५.२९६ अर्ब डलर परिचालन भएको छ।
भारतीय केन्द्रीय बैंकले यो सुविधा जुन ८ मा सार्वजनिक गरेको थियो। यसको उद्देश्य बैंकिङ प्रणालीमा नयाँ विदेशी मुद्रा भित्र्याउने, भारतको बाह्य वित्तीय बफर बलियो बनाउने तथा घरेलु तरलतालाई सहयोग गर्ने रहेको थियो।
यस व्यवस्थाअन्तर्गत बैंकहरूले ३ देखि ५ वर्ष अवधिका नयाँ फरेन करेन्सी ननरेसिडेन्ट (बैंक) निक्षेप परिचालन गर्न सक्ने र ती विदेशी मुद्रालाई आरबीआईसँग सहुलियतपूर्ण दरमा स्वाप गर्न सक्ने व्यवस्था गरिएको थियो। यसले बैंकहरूको हेजिङ लागत घटाउन सहयोग गर्ने अपेक्षा गरिएको थियो।
आरबीआईको यो कदममार्फत विदेशी मुद्राको उपलब्धता बढाउनुका साथै बैंकिङ प्रणालीमा तरलता व्यवस्थापनलाई थप सहज बनाउने लक्ष्य राखिएको छ।



