काठमाडौँ। अनुमतिपत्रप्राप्त भुक्तानी सेवा प्रदायक संस्थाले राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखअनुसार विवरण यकिन गरी वालेट अकाउन्ट खोल्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै यस्तो जनाएको हो।
अनुमतिपत्रप्राप्त संस्थाले २०८३ असोज मसान्तभित्र मोबाइल एप्लिकेसन वा अन्य उपयुक्त माध्यमबाट वालेट प्रयोगकर्ताको राष्ट्रिय परिचयपत्रको विवरण भए नभएको स्व:घोषणा लिनुपर्नेछ र राष्ट्रिय परिचयपत्र लिएका नेपाली नागरिकको हकमा २०८३ असोज मसान्तभित्र सम्बन्धित वालेट प्रयोगकर्ताको राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गर्नुपर्ने नेपाल राष्ट्र बैंकले जनाएको हो।
राष्ट्रिय परिचयपत्र लिई नसकेका नेपाली नागरिकको हकमा राष्ट्रिय परिचयपत्र लिई ग्राहक पहिचान अद्यावधिक गर्न सम्बन्धित वालेट प्रयोगकर्तालाई मोबाइल एप्लिकेसन वा अन्य उपयुक्त माध्यमबाट प्रत्येक महिनामा जानकारी दिने व्यवस्था मिलाउनुपर्नेछ ।
विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले विदेशमै बसी अनलाइनमार्फत विद्युतीय वालेट खोल्नुपर्दा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बाहेकका अन्य आवश्यक कागजात लिएर समेत वालेट खोल्न सक्नेछन् । यसरी खोलिने वालेटका सम्बन्धमा निज वालेट प्रयोगकर्ता नेपाल फर्किएको ३५ दिनभित्र सम्बन्धित अनुमतिपत्रप्राप्त संस्थाले राष्ट्रिय परिचयपत्रको विवरण लिई अद्यावधिक गर्नुपर्नेछ ।
आफ्नो हेरचाह आफैँ गर्न नसक्ने, अशक्त तथा असहाय नागरिकको हकमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बाहेकका अन्य आवश्यक कागजात संलग्न गरेर समेत वालेट खोल्न र कारोबार गर्न सकिनेछ । सूचनासहित:



