DISH HOME

मुक्तिनाथका सिइओ पोखरेलको कथा – ‘साइन्स पढेर बैंकमा करियर, बैंकले दिने २७०० तलव निकै हुन्थ्यो’

काठमाडौँ । जीवनको यात्रा जन्मसँगै सुरु हुन्छ, तर आफ्नै जन्मको अनुभूति कसैलाई हुँदैन। मेरो जन्म बनारस, भारतमा भयो, किनभने त्यतिबेला मेरो बुवा त्यहीँ हुनुहुन्थ्यो। केही समयपछि हाम्रो परिवार बिरगंज आयो।

बिरगंज आएपछि मैले नेपाल अरब बैंकमा काम सुरु गरेँ। म त विज्ञान संकायको विद्यार्थी, इन्जिनियर वा डाक्टर बन्ने सपना थियो। तर, बिएसी गर्दै गर्दा साथीले मेरो तर्फबाट नेपाल अरब बैंकमा आवेदन हालिदियो। लिखित परीक्षा दिन पनि उ नै तानेर लग्यो। उसको पनि परीक्षा थियो—तर विडम्बना, म पास भएँ, ऊ फेल भयो। अन्तर्वार्तामा पनि म छानिएँ।

बैंकमा पहिलो दिनको अनुभव एकदमै अचम्मको रह्यो। बैंकिङ भन्ने कुरा त मलाई बी पनि थाहा थिएन। हामी दुई जना साथीहरू विरगंज शाखामा पुगेका थियौँ। सुरुमा हामीलाई चारै तिर पर्खालले घेरेको कोठामा लगियो। भित्र छिरेको केहीबेरमै पैसाको सागर देखेँ—त्यो त क्यास डिपार्टमेन्ट रहेछ! टेलरको अगाडि बसालेर काम सिकाइँदै थियो। तर, टेलर भनेको भने मलाई त लुगा सिलाउने मान्छे मात्र लाग्थ्यो।

सिनियरहरूले हाम्रा बारेमा कुरा गर्दै थिए—“यो केटालाई पनि क्यासमा ल्याएछन्।” खाजा खाने बेलामा मैले सोधेँ, “दाई, यस्तो किन भन्नु भयो?” उहाँले भन्नुभयो—“क्यास डिपार्टमेन्टमा बोल्न नसक्ने, अलि सुस्त मानिसलाई राखिन्छ।” म त बिएसीमा टपर विद्यार्थी, राम्रो पढ्ने केटा थिएँ। त्यस्तो कुरा सुन्दा मलाई साँच्चिकै ‘म कहाँ आएर फसेँ जस्तो’ लाग्यो।

त्यो बेला मेरो तलब दुई हजार सात सय थियो—मलाई त्यति पैसाले पनि धेरै ठुलो लाग्थ्यो। इन्टरनेट थिएन। १९९१ मा बैंकमा जोइन गरेको म, १९९३ मा कोर बैंकिङ सिस्टम आउँदा सम्म धेरै कुरा सिकिसकेको थिएँ। पढ्ने बानी भएकाले पट्नाबाट Banking Law and Practice भन्ने किताब मगाएर कण्ठै पार्थेँ। आरआर दाइको पुस्तक म निरन्तर पढ्थेँ।

पद बढाउन लिखित र अन्तर्वार्ता पास गर्नुपर्थ्यो। म पास भएर जुनियर अफिसर भएँ। पछि नेपाल अरब बैंक नबिल बैंक बन्यो। त्यतिबेला विरगंज शाखाका ब्रान्च म्यानेजरले मलाई रोजाइ दिनुभयो—क्रेडिट डिपार्टमेन्ट, एलसी डिपार्टमेन्ट वा सुगौली। मैले सुगौली रोजेँ। त्यहाँका बीएम ज्यो आफैं काम नगर्ने, सब काम सेकेन्ड म्यानलाई दिने बानी भएकाले म त्यहाँ गएँ। सुगौली शाखालाई त्यतिबेला ‘कलापानी’ भनिन्थ्यो—जान पनि पैदल, आउन पनि पैदल। पछि कामको कारण शाखा फेरि विरगंजमा सारियो।

हामीले खराब कर्जा शून्यमा झार्यौँ, इन्ट्रेस्ट सस्पेन्स पनि जिरो बनायौँ। सामान्यतया यस्तो असम्भव मानिन्छ, तर हाम्रो टिमले सम्भव गर्‍यो। यसै कारण बोर्डका निर्देशक पप्पु अग्रवालले भन्नुभयो—“यस लड़के को काठमाडौँ लाना पडेगा।” त्यसपछि म काठमाडौँ आएँ।

नबिल बैंक असाध्यै राम्रो थियो, तर पनि पछि मैले छोडेँ। त्यसबेला नेपाल इन्भेष्टमेन्ट बैंकले लाइसन्स पनि पाएको थिएन। म आफ्नो ढंगले सन्तुष्ट हुनेगरी काम गर्दै गएँ। पछि मुक्तिनाथ विकास बैंकमा डेपुटी सिइओको रूपमा जोइन गरेँ। डेढ वर्षमै सिइओ भएँ।

संस्थापक अध्यक्ष भारत राज ढकाल सधैं नयाँ सोचमा विश्वास गर्ने व्यक्ति। उहाँ भन्नुहुन्थ्यो—“नयाँ काम गरौँ, नयाँ मान्छेलाई मौका दिऔँ।” मुक्तिनाथ कृषि कम्पनी पनि उहाँकै सोचबाट जन्मिएको हो। म आएपछि उहाँले सिइओ पद छोडेर मलाई जिम्मेवारी दिनुभयो।

आज म मुक्तिनाथ विकास बैंकको सिइओको रूपमा काम गरिरहेको छु।
यो यात्रा सम्झँदा लाग्छ—जन्म कहिल्यै आफ्नै अनुभव हुँदैन होला, तर जीवनलाई अर्थ दिने अनुभव भने यात्रा गर्दै गर्दा नै बन्ने रहेछ।

(पूर्व बैंकर अनिल केशरी शाहसँग पोखरेलले गरेको कुराकानीमा आधारित ।) 

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै