काठमाडौँ । नबिल बैंकमा ग्राहकले राखेको ४० करोड रुपैयाँ मेनेजरले गायब पारिदिएको खुलासा भएको छ। रकम जम्मा गर्न आउनेहरुको पैसा उनीहरुको खातामा नराखी आफ्नै खातामा राख्ने र पैसा राख्न आउने ग्राहकलाई नक्कली भौचर दिएर पठाउने गरी पोखरास्थित न्युरोड शाखामा ४० करोड रुपैयाँ हिनामिना भएको तथ्य बाहिर आएको हो।
त्यहाँका मेनेजरले लगातार ६ वर्षसम्म यसरी ग्राहकको रकम हिनामिना गरेका थिए। उनले कतिपय अवस्थामा ग्राहकको पैसा सिधै आफ्नै खातामा राख्थे भने कतिपय अवस्थामा ग्राहकको खातामा जम्मा गरेर फेरि आफ्नो खातामा ट्रान्सफर गर्थे। त्यसको हिसाब–किताब पनि उनले आफैं राख्थे। जब सानो रकम झिक्न ग्राहक आउँथे, उनी आफ्नै खाताबाट पैसा झिकेर दिन्थे। यसरी भौचर पनि मिल्थ्यो, चेक काट्दा पैसा पनि आउँथ्यो। बैंकिङको पर्याप्त ज्ञान नभएका धेरै ग्राहकले उनको बदमासी पत्ता लगाउन सकेनन्। तर, जब केही ग्राहकले ठूलो रकम खातामा नभएको भन्दै बैंकको केन्द्रीय कार्यालयमा उजुरी गरे, तब मात्रै मेनेजरको नक्कली खेल बाहिरियो।
उनले सफ्टवेयरमै चलखेल गरेका कारण बैंकको अडिटले पनि ६ वर्षसम्म घोटाला पत्ता लगाउन सकेन। चोरी गरिएको रकम उनले विभिन्न व्यवसायमा लगानी गरेको, घर–जग्गा किनेको तथ्य पनि बाहिर आएको छ। अझ अचम्मको कुरा त के हो भने, करोडौं रुपैयाँ हिनामिना हुँदा पनि बैंकले मेनेजरलाई तत्काल प्रहरीको जिम्मा लगाउने काम गरेन। बरु, कसरी भए पनि पैसा असुल गर्ने प्रयासमा मात्रै केन्द्रित भयो।
उक्त मेनेजर झन्डै २१ वर्षदेखि सोही शाखामा कार्यरत थिए । उनलाई शाखामा आउने ग्राहकको पढाइ–लेखाइ, इन्टरनेट बैंकिङ चलाउने क्षमता, र कमजोरीसम्म थाहा थियो। उनले यही जानकारीको फाइदा उठाउँदै विशेषगरी सोझा ग्राहकको पैसा हिनामिना गरेका थिए।
बैंकले घटनाको ढिलो भए पनि पुष्टि गरिसकेको छ। न्युरोड शाखाका एक कर्मचारीका अनुसार, करिब ४० करोड रुपैयाँ हिनामिना भएको र अहिले केही करोड मात्र असुल गर्न बाँकी रहेको छ। उनले भने, ‘तर, मेनेजरलाई जति कारवाही हुनुपर्ने थियो, त्यो भएको छैन। बैंकलाई पैसा भन्दा पनि ब्रान्डको चिन्ता भयो।’
यस्तै प्रकृतिको घटना केही समयअघि सिन्धु विकास बैंकमा पनि भएको थियो। तर, सिन्धु विकास बैंकले घटनामा संलग्नलाई तुरुन्त प्रहरीले समात्यो, रकम असुल गर्यो र कानुनी कारवाही पनि भयो। नबिल बैंकले भने मेनेजरलाई पक्राउ गरेर कानुनी कठघरामा ल्याउने काममा चुक्यो। इन्टरनल अडिट कमजोर भएको देखिएको छ र बैंकले ब्रान्ड बिग्रने डरले घटनालाई भित्रभित्रै सामसुम पार्ने प्रयास गरेको बुझिएको छ ।