DISH HOME

बैंकर सुयोग श्रेष्ठको कथा -‘हिमालयन बैंकमा हुँदा नमस्ते गर्न पनि आउँदैनथ्यो, बाबाको अभाव खड्कीरहन्छ’

म चैनपुर, सङ्खुवासभा पहाडमा जन्मिएको हुँ। मैले करिब १८ वर्षकै उमेरदेखि काम सुरु गरेको हो। त्यतिबेला म Bachelor of Commerce पढ्दै थिएँ। बिहान कलेज जान्थेँ, दिउँसो मामाको फ्याक्ट्रीमा काम गर्थेँ। जीवन त्यसैगरी व्यस्तै बगिरहेको थियो।

तर, मेरो जीवनमा ठूलो धक्का आयो—आईएससी सेकेन्ड इयरको अन्तिम परीक्षाभन्दा १५ दिन अगाडि बाबाको निधन भयो। मानसिक स्वास्थ्य निकै कमजोर भएको त्यस अवस्थामा मैले आफ्नो गन्तव्य बदल्नु पर्‍यो। मेरो अंकल चार्टर्ड एकाउन्टेन्ट हुनुहुन्थ्यो, उहाँ नै मेरो सल्लाहकार पनि। उहाँको सुझावमा मैले CA पढ्ने निर्णय लिएँ। त्यससँगै B.Com पनि पुरा गरेँ।

पढाई सकाएर नेपाल फर्किएपछि मैले हिमालयन बैंकमा जागिर सुरु गरेँ। करियर जुनियर अफिसरबाट सुरु भयो। यसमा म गर्व गर्छु—किनभने मैले कहिल्यै जागिर खानको लागि कसैसँग बिन्ती गर्नुपरेन। केही वर्ष काम गरेपछि भने मेरो मनमा व्यापार गर्ने सोच आयो। बैंकको जागिर छोडेर व्यापार सुरु गर्ने निर्णय गरेँ।

त्यतिबेला हिमालयन बैंकका सिइओ अशोक एसजेबी राणाले मलाई जागिर नछोड भन्नुभयो। मैले भने—“छोड्छु ,  बैंकले डेढ करोड ऋण अप्रूभ गर्नुपर्छ।” ऋण त अप्रूभ भयो, तर काम बनेन। पछि नेपाल इन्भेष्टमेन्ट बैंकबाट अवसर आयो, म त्यहाँ गएँ। लामो समय काम गरेँ। तर आमा बित्नुभयो। त्यो दुखले गर्दा म फेरि जागिर छोडेर घरमै बस्न थालेँ।

त्यसपछि एस बैंकबाट नयाँ अवसर आयो। म गएँ, बैंक मर्ज भयो। त्यतिबेला मैले आफ्नो करियरभन्दा पनि जीवनलाई हेरेँ। त्यही अनुभवले सिकायो—सहकर्मी र साथीमा धेरै फरक हुन्छ। साथीलाई सबै कुरा भन्न सकिन्छ, तर सहकर्मीलाई सकिँदैन।

त्यो समय उतार–चढावले भरिएको थियो। जागिर पनि गुम्ने खतरा, मेहनत, पीडा—तर, सिकाइ पनि उत्तिकै। जब बेरोजगार भएँ, तब बुझें—“मोबाइलको घन्टी बज्न बन्द हुन्छ।” असार मसान्तसम्म राति ९ बजेसम्म अफिसमा बस्ने म, अर्को दिनदेखि बेरोजगार। तर अचम्म के भने, बेरोजगार हुँदा म भित्रभित्रै शान्त थिएँ।

यहीबीच सांग्रिला बैंकको अवसर आयो। सुरुमा म इच्छुक थिएन। एकदिन एयरपोर्टमा एउटा व्यक्तिसँग भेट भयो। थाहा थिएन—उहाँ त बैंककै प्रोमोटर हुनुहुन्थ्यो। उहाँले आवेदन दिन प्रेरित गर्नुभयो। फेरि अर्को पार्टीमा भेट हुँदा उहाँले फेरि नै भनेपछि अन्ततः मैले आवेदन दिएँ। त्यसरी मेरो सांग्रिला यात्राको सुरुवात भयो।

सांग्रिला डेभलपमेन्ट बैंकमा आएपछि मात्र मैले नेपाल र नेपालीलाई नजिकबाट बुझ्न पाएँ। कमर्सियल बैंकमा भन्दा फरक—सानादेखि ठुलासम्म सबैसँग डिल गर्नुपर्ने रहेछ। यसले मलाई मान्छेको स्वभाव बुझ्ने, व्यवहार बुझ्ने, अनि जीवन बुझ्ने अवसर दियो।

CA पढ्न भारत गएको बेला मेरो पहिलो अडिट Nepal Lever Limited (अहिलेको Unilever) मा भएको थियो। त्यहाँ देखेको एउटा कुरा आजसम्म मेरो जीवनमा बसिरहेको छ—जीएमले आफ्ना सहकर्मीलाई हरेक दिन wish गर्थे। त्यही संस्कार म अहिले पनि सांग्रिलामा अपनाउँछु—सबैलाई अभिवादन गर्छु, “I wish them.”

हिमालयन बैंकमा हुँदा मलाई नमस्ते गर्न पनि आउँदैनथ्यो। म केवल “Good Afternoon, Good Morning” भन्ने गर्थेँ। एकदिन इडी सरको सेक्रेटरीले भन्नुभयो—“सरलाई यो शब्द मन पर्दैन, उहाँलाई नमस्कार गर्न मन पर्छ।” त्यस दिनदेखि म बुझें—संस्कार हाम्रो जीवनको जरो हो।

आज फर्केर हेर्दा लाग्छ—धेरै कुरा गुमाएँ, तर अझ धेरै कुरा पाएँ। बाधा–अड्चनकै बीचमा आफूलाई योग्य बनाउन सकियो भने, त्योभन्दा ठूलो गर्व केही हुँदैन। मेरो सांग्रिला यात्रा यही सत्यको प्रमाण हो।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै