काठमाडौँ । सीइओ सुरेन्द्र राज रेग्मी, एच आर हेड अनामिका सिंह, डेपुटी सीइओ सुमन पोखरेल र दीपचन्द्र रेग्मीको नामै किटेर, ‘तिमीहरुले मलाई मार्यौ’ भनेर फेसबुकमा लेखी ग्लोबल आईएमई बैंकका कर्मचारी पिताम्बर खड्काले आत्महत्या गरेपछि स्थानीयहरुले पावर र पहुँचका भरमा घटनाको अनुसन्धान फितलो नबनाउन आग्रह गरेका छन् । घटनास्थलमा भेला भएका स्थानीयले प्रहरीसमक्ष यस्तो आग्रह गरेका हुन् ।
खड्काले नाम नै किटिसकेको अवस्थामा उल्लेखित नामवाला व्यक्तिहरुलाई तुरुन्त पक्राउ गरी आत्महत्या दुरुत्साहनको केसमा अनुसन्धान गर्नुपर्ने स्थानीयहरुको माग छ । ग्लोबल आईएमई बैंकका कर्मचारीहरुले भने सार्वजनिक रुपमा यो केसमा बोल्न मानिरहेका छैनन् ।
खड्काले राजिनामा स्वीकृत भएकै दिन सिलिङ्गमा पासो लगाएर आत्महत्या गरेका थिए । उनलाई बैंक छाड्न तिब्र दबाब दिईएपछि उनले राजिनामा दिएको संकेत फेसबुकले प्रष्ट पारेको भन्दै यसबारे सत्यतथ्य सार्वजनिक हुनुपर्ने माग स्थानीयले गरिरहेका छन् ।
यता प्रहरीले भने घटनासँग जोडिएका सबैविरुद्ध छानविन हुने प्रष्ट पारेको छ । आफुहरुलाई अनुसन्धानमा सहयोग गर्न भन्दै प्रहरीले घटनाको सबै पक्षबारे छानविन हुने प्रष्ट पारेको छ ।
सीइओसहितको फोटोसहित स्ट्याटस लेखेर ग्लोबल आईएमई बैंकका कर्मचारीले गरे आत्महत्या !
सीइओको नाम नै किटेर खड्काले आत्महत्या गरेपछि अहिले यो केसबारे छलफल गर्न बैंकको आकस्मिक बैठक बसिरहेको छ । सोमबार राती अबेरसम्म पनि यस विषयमा बैंकका सीइओले आफ्ना सिनियर कर्मचारी र कानुन विभागका प्रमुखसँग परामर्श गरेका थिए ।


