काठमाडौँ। नेपालमा पछिल्लो समय व्यापारी, उद्योगी तथा व्यवसायीहरू धमाधम कालोसूचीमा पर्न थालेका छन् । बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा समयमै भुक्तानी गर्न नसक्ने, चेक बाउन्स हुने, किस्ता रोक्किने तथा वित्तीय दायित्व पूरा नगर्ने क्रम बढ्दै जाँदा कालोसूचीमा पर्नेहरूको संख्या उल्लेख्य रूपमा बढेको देखिएको हो ।
बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित अधिकारीहरूका अनुसार पछिल्ला केही वर्षयता आर्थिक गतिविधि सुस्त बन्दै जाँदा व्यवसाय सञ्चालनमा गम्भीर समस्या उत्पन्न भएको छ।
बजारमा कारोबार घटेको, उपभोक्ताको क्रयशक्ति कमजोर बनेको, उद्योगहरू न्यून क्षमतामा सञ्चालन हुन थालेको तथा निर्माण र रियल इस्टेट क्षेत्र लामो समयदेखि मन्दीमा फसेका कारण धेरै व्यवसायी ऋण तिर्न नसक्ने अवस्थामा पुगेका छन्।

