काठमाडौँ। बैंकका ४ जना सिनियर व्यवस्थापकको तस्विर राखेर प्राण त्यागेका ग्लोबल आईएमई बैंकका कर्मचारी पिताम्बर खड्काको अन्त्यष्टी गरिएको छ । पोष्ट मार्टम रिपोर्टपछि उनीहरुको अन्त्यष्टि गरिएको हो ।
अन्त्यष्टीमा बैंकका केहि कर्मचारीहरुको पनि उपस्थिति थियो । तर, हेड अफिसबाट भने कोहि पनि मलामी नगएको एक बैंकरले बताएका छन् । सुरुमा परिवार शब नबुझ्ने अडानमा थियो । तर, स्थानीयले सम्झाएपछि र प्रहरीले पनि आवश्यक अनुसन्धान गर्ने बताएपछि शब बुझेर अन्त्यष्टी गरिएको थियो।
आफ्ना हाकिमहरुको नाम नै किटेर ग्लोबल आईएमई बैंकका कर्मचारीले प्राण त्याग गरेपछि बैंकले केहि क्षतिपूर्ति र परिवारका सदस्यलाई जागिर लगाएर केस सल्टाउने विषयमा आन्तरिक छलफल सुरु गरेको छ ।
बैंकका एक उच्च अधिकारीले दिएको जानकारी अनुसार यो केसमा बैंकको थप ड्यामेज कन्ट्रोल गर्न र परिवारलाई मिलाउने विकल्पमा बैंकभित्र छलफल भएको हो ।
यसअघि अर्को एक बैंकमा पनि कर्मचारीले आफैंले प्राण त्याग्दा उनकी श्रीमतीलाई जागिर दिएर केस सल्टिएको थियो ।
बैंकका कर्मचारीले आफ्ना सिनियर हाकिमहरुलाई दोष लगाएर प्राण त्याग गरेपछि बैंकका अरु कर्मचारी पनि यस विषयमा बोल्न थालेका छन् ।
बैंकले हदैसम्म दु:ख दिने गरेको र त्यसमा पनि एचआर प्रमुख अनामिका सिंहको ज्यादती बढी नै भएको भन्दै उनीहरुले मुख खोल्न थालेका हुन् ।


