काठमाडौँ। बैंकिङ प्रणालीबाट पछिल्लो एक दिनमा २६ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार फागुन २२ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूमा ७८ खर्ब ४२ अर्ब रुपैयाँ निक्षेप रहेकोमा फागुन २३ गते घटेर ७८ खर्ब १६ अर्ब रुपैयाँमा झरेको हो।
समीक्षा अवधिमा वाणिज्य बैंकहरूमा रहेको निक्षेप पनि २६ अर्ब रुपैयाँले घट्दै ७० खर्ब ४२ अर्ब रुपैयाँमा सीमित भएको छ। निक्षेपमा आएको यो गिरावटले बैंकिङ प्रणालीमा तरलता व्यवस्थापन चुनौतीपूर्ण बन्न सक्ने संकेत गरेको छ।
यता, सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले ७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। यससँगै कुल कर्जा लगानी ५८ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म कुल कर्जा लगानी ५८ खर्ब ३७ अर्ब रुपैयाँ रहेको थियो।
निक्षेप घट्दा पनि कर्जा प्रवाह भने बढिरहेकाले बैंकहरूको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ७५.०३ प्रतिशत कायम भएको छ। साथै, अन्तर बैंक ब्याजदर घटेर २.७५ प्रतिशतमा झरेको छ। जसले बजारमा अल्पकालीन तरलताको अवस्था सहज बन्दै गएको संकेत गरेको छ।
निक्षेपमा आएको गिरावट र कर्जा विस्तारको प्रवृत्तिले आगामी दिनमा बैंकहरूको तरलता अवस्था र ब्याजदरमा थप प्रभाव पार्न सक्ने देखिएको छ ।

