शाइन रेसुङ्गा बैंकले जित्यो इमर्जिङ एशिया बैंकिङ अवार्ड

shine-resunga-development-bank
  • बैंकिङ संसार
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैंकिङ अवार्ड-२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ क्याटेगोरिजका आधारमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक उत्कृष्ट हुँदै अवार्ड जितेको हो ।
इण्डियन चेम्बर अफ कमर्सले आह्वान गरेको खुल्ला प्रतिस्पर्धामा भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र नेपाल गरी ६ देशका बैंक तथा वित्तीय संस्थाहरुले अवार्डका आवेदन दिएका थिए । अवार्डका लागि इण्डियन चेम्बर अफ कमर्सको आर्थिक मामिला तथा नीति विभागले विभिन्न १७ वटा सूचक निर्धारण गरेको थियो । जसमध्ये शाइन रेसुङ्गाले कुल सम्पत्ति, कुल निक्षेप, कुल कर्जा तथा सापटी, खुद कर्जा तथा सापटी, कुल ब्याज आर्जन, कुल ब्याज खर्च, शुल्कमा आधारित आम्दानी, सञ्चालन खर्च, कर पछिको खुद नाफा, प्रावधान र आकस्मिकता तथा अन्य आम्दानी लगायतका सूचकहरुमा उत्कृष्ट भएको बैंकले जनाएको छ ।
त्यस्तै, अवार्ड छनोटको निर्णायकमा अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त प्राइस वाटरहाउस कुप (पीडब्लुसी) रहेको थियो । पीडब्लुसीको उपस्थिति विश्वका १५० देशका ७ सय स्थानमा रहेको छ । उक्त अवार्ड भारतको गोवामा शनिबार वितरण गरिएको थियो । अवार्ड शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका ब्राण्डिङ हेड प्रभास राईले ग्रहण गरेका थिए ।
स्थापनाकालदेखि नै इथिकल बैंकिङको मूल्य मान्यतामा अगाडि बढेकाले अहिले इमर्जिङ एशिया बैंकिङ अवार्ड प्राप्त गर्न सफल भएको र यसबाट बैंकको उचाई थप माथि पुगेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए । ‘अन्तर्राष्ट्रिय अवार्ड पाउनुमा बैंकका सञ्चालक, कर्मचारी, निक्षेपकर्ता, कर्जा लिएका सर्वसाधारणदेखि उद्योगी व्यवसायी सबैको योगदान र सहयोग छ,’ पौडेलले भने ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको बुटवलमा केन्द्रीय कार्यालय रहेको छ । ५ अर्ब अधिकृत पुँजी र ४ अर्ब २८ करोड चुक्ता पूँजी भएको बैंकका देशभर ८८ वटा शाखा, एउटा एक्सटेन्सन काउन्टर र १६ वटा एटीएम सञ्चालनमा छन् ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्