काठमाडौँ। हिमालयन बैंक लिमिटेडको पाल्पा शाखाका प्रबन्धकमाथि कार्यकक्षमै दुर्व्यवहार र हातपात भएको आरोपसहितको घटना सार्वजनिक भएको छ। यो घटना २०८२ साल माघ २५ गते दिउँसो करिब ३ बजेतिर भएको जनाइएको छ।
प्राप्त जाहेरीअनुसार तानसेन नगरपालिका २, मेलधाराकी करिब ४५ वर्षीया मञ्जु रेग्मी ४० लाख रुपैयाँ ऋण लिन बैंक पुगेकी थिइन्।
उनले धितोका रूपमा राख्न खोजेको ‘गोरेटो बाटोको जग्गा’ बैंकको नीति तथा नियमअनुसार स्वीकार्य नभएको भन्दै प्रबन्धक सुवेदीले ऋण दिन नसकिने जानकारी दिएका थिए।
ऋण अस्वीकृत भएको जानकारी पाएपछि रेग्मी आक्रोशित बनेकी थिइन्। उनले ‘अन्य बैंकमा मिल्छ, यहाँ किन नमिल्ने ?’ भन्दै उच्च स्वरमा प्रबन्धकको कार्यक्षमता र इमानदारीमाथि प्रश्न उठाएकी थिइन्।
विवाद चर्किंदै जाँदा उनले प्रबन्धक सुवेदीमाथि हातपात गरेको आरोप जाहेरीमा उल्लेख गरिएको छ।
घटनाबारे प्रबन्धक सुवेदीले आफ्नो दाबी पुष्टि गर्न बैंकका कर्मचारी रमेशराज बज्राचार्यलाई साक्षीका रूपमा प्रस्तुत गरेका छन् भने बैंक परिसरमा जडान गरिएको सीसीटीभी फुटेजलाई पनि प्रमाणका रूपमा अघि सारेका छन्।
कार्यकक्षभित्र क्यामरा नभए पनि बाहिरको फुटेजले घटनाको संकेत दिने बैंकको दाबी छ।


