कर्णालीको एक्लो ‘घण्टी’ संसदमा, मन्त्री बन्ने सम्भावना कति ?

काठमाडौं । कर्णाली प्रदेशबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को एक मात्र प्रत्यक्ष जित सुर्खेत क्षेत्र नम्बर २ मा हासिल भएको छ। उक्त क्षेत्रमा रास्वपाका उम्मेदवार रमेश कुमार सापकोटाले ३० हजार ८२६ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। यससँगै उनी कर्णालीबाट रास्वपाका एक्ला प्रत्यक्ष निर्वाचित प्रतिनिधि बनेका छन्।

यो जितपछि सापकोटा कर्णालीको प्रतिनिधि आवाजका रूपमा चर्चामा आएका छन्। तर अहिले राजनीतिक वृत्तमा एउटा बहस सुरु भएको छ-के कर्णालीबाट एक मात्र सिट जितेका आधारमा रास्वपाले उनलाई मन्त्रिपरिषद्मा स्थान दिन्छ ?

विश्लेषकहरूका अनुसार कर्णाली प्रदेशमा रास्वपा समानुपातिकतर्फ दोस्रो ठूलो शक्ति बनेको छ। यसले कर्णालीका मतदाताले पार्टीको वैकल्पिक राजनीति र एजेन्डाप्रति उल्लेख्य विश्वास देखाएको संकेत गर्छ। यस्तो अवस्थामा त्यस जनमतको सम्मान गर्दै पार्टी नेतृत्वले कर्णालीबाट सरकारमा प्रतिनिधित्व गराउने विषयमा सोच्नुपर्ने दबाब बढ्न सक्ने आँकलन गरिएको छ।

यसबाहेक रास्वपाले आफूलाई केवल काठमाडौंकेन्द्रित पार्टी नभएको सन्देश दिन पनि कर्णालीको प्रतिनिधित्व सरकारसम्म पुर्‍याउन सक्ने सम्भावना छ। यदि सापकोटा मन्त्रिपरिषद्मा पुगे भने कर्णालीका दीर्घकालीन समस्या-पूर्वाधार, रोजगारी, शिक्षा र स्वास्थ्यका मुद्दा केन्द्र सरकारमा अझ प्रभावकारी रूपमा उठ्ने अपेक्षा गरिएको छ।

तर रास्वपाले अहिलेसम्म क्षमता र कार्यसम्पादनलाई प्राथमिकता दिने नीति लिँदै आएको छ। सापकोटाको ठूलो मतान्तरले उनको लोकप्रियता देखाए पनि अन्तिम निर्णय भने सत्ता समीकरण, गठबन्धनको गणित र पार्टीको रणनीतिले निर्धारण गर्ने देखिन्छ। कर्णालीले केवल मत मात्र दिएको छैन, संसदमा ‘घण्टी’ बजाउने जिम्मेवारी पनि दिएको छ। अब हेर्न बाँकी छ । रास्वपाले उनलाई मन्त्रीमण्डलमा समेटेर कर्णालीको आवाज अझ सशक्त बनाउँछ कि त्यो आवाज संसदभित्रमै सीमित रहन्छ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै