काठमाडौँ। नेपाली नक्कली नोटसहित १० जना पक्राउ परेका छन् । पक्राउ पर्नेमध्ये ३ जना नेपाली नागरिक रहेको खुलेको छ।
आमनिर्वाचन लक्षित गरेर नेपालमा नक्कली नेपाली र भारतीय रुपैयाँ भित्र्याउने तयारीमा रहेको ठूलो गिरोह भारतमा पक्राउ परेका हुन्। पूर्वी चम्पारण प्रहरी र एसटिएफको संयुक्त टोलीले भारतको सीतामढीको मेजरगंज क्षेत्रमा सञ्चालित नक्कली नोट छाप्ने अत्याधुनिक कारखाना नै फेला पारेर ध्वस्त पारेको छ ।
छापामारीमा २५ लाख रुपैयाँ बराबरको नक्कली नेपाली नोट, १८ हजार ५ सय नक्कली भारतीय रुपैयाँ र नोट छाप्ने हाइटेक मेसिन बरामद भएको छ । नोट छाप्न प्रयोग हुने कागज, रसायन तथा अन्य सामग्री पनि बरामद भएको छ ।
घटनामा संलग्न १० जना अभियुक्तलाई पक्राउ परेका हुन्। प्रहरीले नक्कली नोट कारोबार राष्ट्रिय सुरक्षा र आर्थिक स्थायित्वमाथिको गम्भीर खतरा भएकाले यस्ता गतिविधिमा संलग्न कसैलाई पनि नछोडिने स्पष्ट पारेको छ ।

