काठमाडौँ। विकास बैंक समुह चम्किँदा नेप्सेमा सामान्य सुधार देखिएको छ। बिहीबार सेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेर बन्द भएको छ । बुधबारको कारोबारमा सामान्य करेक्सन देखिएको नेप्से आज ९.२३ अंकले बढेको हो ।
सामान्य वृद्धि भएको नेप्से आज २ हजार ७१४.६१ विन्दुमा पुगेर रोकिएको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस्तै, एक्सेल डेभलपमेन्ट बैंकको सेयरमूल्य करिब १० प्रतिशतले बढेको छ ।
नेप्सेसँगै यस दिन कारोबार रकममा पनि वृद्धि देखिएको छ । अघिल्लो दिन बुधबार ८ अर्ब ९२ करोड रुपैयाँको कारोबार भएको बजारमा बिहीबार ३३२ स्टकको ९४ हजार १७४ पटकको कारोबारमार्फत ९ अर्ब ७ करोड ३९ लाख ७८ हजार रुपैयाँ बराबरको १ करोड ९० लाख ७५ हजार कित्ता सेयर किनबेच भएको छ ।
१३ उपसमूहमध्ये बिहीबार १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ । वित्त उपसमूहको परिसूचक सर्वाधिक २.३८ प्रतिशतले बढेको छ । साथै, विकास बैंक, होटल तथा पर्यटन तथा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बढेको छ ।
यता, व्यापार उपसमूहको परिसूचक भने सर्वाधिक १.१५ प्रतिशतले घटेको छ ।

