काठमाडौँ। वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको मंसिरसम्ममा कर्मचारीको तलबभत्तामा २५ अर्बबढी खर्च गरेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२-८३ को मंसिरसम्मको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकले कुल २५ अर्ब ४ करोड १५ लाख रुपैयाँ खर्च गरेका हुन्।
अघिल्लो वर्ष २०८१-८२ को सोही अवधिसम्मको तुलनामा बैंकहरुको खर्च ६.८२ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिसम्म बैंकहरुले कर्मचारीको तलबभत्तामा २३ अर्ब ४४ करोड ३२ लाख रुपैयाँ खर्च गरेका थिए।
यस अवधिमा सबैभन्दाबढी राष्ट्रिय वाणिज्य बैंकले कर्मचारीको तलबभत्तामा १ अर्ब ९७ करोड ८९ लाख खर्च गरेको छ।
त्यस्तै, नबिल बैंकले कुल १ अर्ब ७४ करोड ८८ लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकले कर्मचारीको तलबभत्तामा १ अर्ब ५४ करोड २९ लाख रुपैयाँ र एनएमबि बैंकले ९२ करोड ३९ लाख रुपैयाँ खर्च गरेको छ।
यता समीक्षा अवधिसम्म कर्मचारीको तलबभत्तामा सबैभन्दा कम खर्च स्ट्यान्टर्ट चार्टर्ड बैंकले ४१ करोड ५४ लाख रुपैयाँ गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा बैंकको यो खर्च ९.२३ प्रतिशतले कम हो।

