DISH HOME

निलम्बन गरेर अनुसन्धानमा सहयोग गर्नुपर्ने बजगाईंलाई नबिलमा उल्टै डेपुटीमा बढुवा !

काठमाडौँ । नबिल बैंकमा कार्यरत आदर्श बजगाईंले गरेको सेयर कारोबार गैरकानुनी भएको भन्दै नेपाल धितोपत्र बोर्डमा केही समयअघि उजुरी परेको छ । उजुरीमा उल्लेख अनुसार बजगाईंले बैंकको काम छोडेर उधारो कारोबार गरेका, नबिलकै सहायक कम्पनी ‘नबिल स्टक डिलर’ मा आफ्नो अख्तियारीको दुरुपयोग गर्दै छोरीका नाममा करोडौँ रुपैयाँ उधारो राखी कारोबार गरेका, काममा ध्यान नदिई सेयर कारोबारमै समय बिताएको र नबिल स्टक डिलरका हर्ताकर्ताले गरेका गैरकानुनी कार्यहरू ढाकछोप गर्ने प्रयास गरेको आरोप लगाइएको छ ।

सो विषय सार्वजनिक भएपछि बजगाईंलाई तत्काल निलम्बन गरी अनुसन्धानमा सहयोग गर्न लगाउनुपर्नेमा उल्टै उनलाई डेपुटी सीइओमा बढुवा गरिएको पाइएको छ ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ बजगाईंका मास्टर्स पढ्दाका सहपाठी भएको साइनोका कारण सो उजुरीलाई तामेलीमा राखेर बजगाईंलाई बढुवा दिलाएको आरोप पनि लागेको छ । बैंक व्यवस्थापनले बजगाईंलाई निलम्बन गर्ने हो भने अरू अधिकारीहरूले गरेको सेयर कारोबारसमेत सार्वजनिक हुन सक्ने डरले उनलाई बढुवा गरिएको नबिल बैंकका कर्मचारीहरूले दाबी गरेका छन् ।

लामो समयदेखि नबिल बैंकमा कार्यरत रहे पनि बजगाईं बढुवाबाट पछाडि परेका थिए । उनी बैंकको कामभन्दा बढी सेयर बजारमा व्यस्त हुने भएकाले बढुवाको पात्र ठानिएको थिएन । तर अनुसन्धानमा सहयोग गर्नुपर्ने समयमा नै उनलाई बढुवा गरिएको छ ।

बजगाईंविरुद्ध नबिल बैंककै अर्का एक अधिकारीले धितोपत्र बोर्डमा उजुरी गरेका थिए । नबिल बैंकमा सीइओ बन्न नपाएको रिसमा अर्का एक डेपुटी सीइओले पनि सो उजुरीमा सहयोग गरेको बताइन्छ । उजुरीको कुरा बाहिरिएपछि बजगाईंलाई तत्काल निलम्बन गर्नुपर्ने आवाज बैंकभित्र उठेको थियो । तर उनलाई निलम्बन गर्नुको साटो उल्टै डेपुटी सीइओमा बढुवा गरिएको हो ।

बढुवा भएपछि बजगाईंले धितोपत्र बोर्डमा सो उजुरीको प्रक्रिया अघि नबढाउन दबाब दिएका र नबिल स्टक डिलरमा सम्भावित अनुसन्धानलाई असर पार्ने गरी प्रमाण मेट्ने लगायतका कार्य गरेको आरोप पनि छ ।

यता, केही समयका लागि बोर्डमा कुरा मिलाए पनि आफैँ फस्ने निश्चित देखेपछि बजगाईंलाई सहयोग गर्ने स्टक डिलरका एक कर्मचारी भने विदेश पलायन हुने तयारीमा रहेको बताइएको छ ।

यति धेरै विवादबीच पनि बजगाईं यस विषयमा कुनै प्रतिक्रिया दिन इच्छुक देखिँदैनन् । उनी मिडियाको फोन उठाउँदैनन् । हामीले पनि उनको धारणा लिन फोन गरेका थियौँ, तर उनले फोन उठाएनन् ।

उता बैंकका सीइओ मनोज कुमार ज्ञवालीसँग सम्पर्क गर्दा पनि फोन लागेन । बैंकका कर्मचारीका अनुसार उनी हाल देश बाहिर रहेका छन् ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै